
कुना कन्दरा भिर पाखामा घाँस काट्दै,
भविष्यको सपना बुन्दै हिँड्ने ती चेलीहरू,
नयाँ पुस्ताको उज्यालो बनी
हरेक क्षेत्रमा आफूलाई स्थापित गरेका छन्
प्रशासन,न्याय, शिक्षा,उद्योग, विज्ञान, साहित्य र राजनीति
लम्किरहेका छन्, चम्किरहेका छन्
तर अझै पनि,
किन रोकिएको छ आवाज ?
किन थिचिएको छ उडानको पखेटा?
किन बाँधिन्छ स्वतन्त्रता चार दिवारभित्र ?
त्यसैले,
यो समय हो
योगदानको कदर र सम्मान दिने
शब्दमा होइन,
व्यवहारमा समानता, अवसरमा खुला,
सहभागितामा सुनिश्चितता
त्यसैले,
उठ, जाग र लाग
सरस्वती, लक्ष्मी काली झैं बनी
भत्काउ, ढाल र ढाक कलुष समाजका
वसन्त झैं नयाँ विचार लिई
आफूलाई निर्धो र दुर्बल नमानी
पूरा गर अपूरा र अधुरा सपना
सधैं मन कञ्चन पारी
तब त
पूरा हुन्छ सपना र सम्भावनाको भारी
इतिहास हेर्दा तिमी नै हौ सृष्टिको खानी ।
