
आज भन्दा करिव १६ वर्ष अघि अर्थात २०६६ सालतिर बुढीनन्दा माताको दर्शन गर्ने सौभाग्य मिल्यो । आमाको तीर्थयात्रामा सहयोगीका रूपमा ठुल्दाई र म खटाईने पारिवारिक निर्णय अनुसार हामी बुढीनन्दा माताको दर्शनार्थ तयार भयौं । घरबाट हिडेंको पहिलो दिन पोरखेको लल्लरेमा Ratna Parasd Devkota दाजुको होटलमा बास भयो । घरबाटै बोकेको सामलबाट बेलुकाको खाना तयार गर्यौं । सामान्यतया बुढीनन्दा यात्रा अवधिभर रोटी वा चोखो खाना खानुपर्ने नियम रहेछ। यात्रामा Bhakta Bista हेडसरका परिवार र अन्य गाउलेहरूबाट सुरू भएको तिर्थयात्री टोलीमा पाटा पिनालेक, जुगाडा तिरका तिर्थालुहरू भेटेपछी हाम्रो टिमको आकार पनि बढ्दै गयो ।
दोस्रो दिन बिहान झिसमिसे मै पोरखे लेक काट्ने सल्लाह बमोजिम चाढैं उठेर यात्रा प्रारम्भ गर्यौं । बिहानको खाना पाण्डुसैन कार्कीबाडा गजेन्द्र कार्कीदाईको होटलमा भयो । पाण्डुसैनको पाईलोबाटो हिडेर बिरसैनबाट उकालो लाग्यौं । सिराडी जाने बाटो रहेछ । पहिल्यै गएकाहरू विभिन्न ठाउहरूको परिचय गराउदै हिड्दै गर्यौ । उ त्यो काल्सिल, पर देखिने कोल्टी, त्यो डाडांको मुनि कर्नाली बग्छ भनेर देखाउनु हुन्थ्यो । पारी पट्टी नुरीको बाटो, तलिगोठी कैलासको थान, बड्डालाको गाउलाई साक्षि राखि हामी कुरू भन्दा तल्लो गांउमा बास बस्यौं !
तेस्रो दिन बिहान कुरूबाट हिड्ने तिर्थयात्रीहरूसंगै जय बोलाउदै यात्रा प्रारम्भ गर्यौं । बुढीनन्दा जाने बाटो जानेकाहरूको पछी लाग्दै छाप्रे पुग्यौं । छाप्रेमा रहेको धरमशालाको आकारले भक्तजनको भार थाम्न सकेन । आमा लगायतका पाका मान्छेहरूलाई धरमशाला मै व्यवस्थापन गरेर हामी त्यहीको ढुंगाको ओडारमा ओत लाग्यौं ।
अव बुढीनन्दाका पुजारीहरूसंगै जाने भएकोले लामबद्व भएर चौथो दिनको यात्रा थालनी गर्यौं । अघि अघि ध्वजा पताका, पुजा सामग्री बोकेका पुजारीहरूको निर्देशनमा एउटै लयमा यात्रा अगाडी बढायौं । सक्ने नसक्ने सवैले साथै जानुपर्ने कस्तो राम्रो चलन रहेछ । जय बोलाउदै, माताको नाम लिदै, हिड्न नसक्नेलाई साथ दिदैं । हातेमालो गर्दै चरी दह पुगिन्छ । चरीदहमा स्नान गरेपछी धन भण्डार तिर तिर्थालुहरूको लर्को सोझिन्छ । हरिया पाटन अनि सेतो पटुका सुकाउन राखे जस्ता घोडा भेडाका बथानले कस्को मन नचोर्ला र ? छाप्रेबाट माथी जुत्ता चप्पल लगाउन नपाईने चलन रहेछ । सवैले खालि खुट्टा यात्रा गर्नुपर्ने रहेछ । पाटनका तिखा ढुगांले चसक्क बिज्याउदा जय माता बुढीनन्दा भनु बाहेकको विकल्प रहेन । पाटनको चुन अनि रंगिविरगीं फुलहरूले सज्जिएका बागहरूको दृश्यपान गर्न पाईन्छ । धन भण्डारमा गौमुलबाट पनि एकै दिनमा पुग्न सकिने रहेछ । धन भण्डार पुग्नै लाग्ला छहराबाट बग्दै आएको धौलीगंगा निकै लोभ लाग्दो छ । धन भण्डार एक प्राकृतिक आश्रय स्थल हो जहा जति तिर्थालु भए पनि अटाउन सकिन्छ । सामान्यतया फलानो फलानोको ठियो भनेर छुट्याएको हुने रहेछ । हामी जुगाडीका लागि छुट्याएको स्थानमा बस्यौ । चिउरा, सातु लगायतको चोखो खानेकुरा सवैले सवैलाई बाढेर खानुपर्ने चलन रहेछ । सवैले बांढेको अलिअलि गर्दा सयौं थरीका परिकार चाख्न पाईने कति राम्रो प्रचलन । एकातिर एकापसमा सम्वन्ध विस्तार अर्को तिर जिव्रोलाई पनि स्वाद । रात भर भजन किर्तन गर्दै उपवास बस्ने चलन रहेछ ।
पांचौं दिन अर्थात बुढीनन्दा माताको दर्शन गर्ने दिन (जनैंपुर्णिमाको अघिल्लो दिन) बिहान पुजारीले शंख घण्ट बजाए पछी बाटो लाग्यौं । धन भण्डारबाट सोझैं पहाडको भर्यागं चढेर जानुपर्ने रहेछ ! (लिस्ने गौडा भन्दा रहेछन) । नागवेली चट्टानको बाटोमा एक खुट्टा अड्याएर अर्को खुट्टा चाल्नुपर्ने रहेछ । सुरूमा निकै डर लागिरहेको थियो । चिप्लियो भने त ढुगां नै ढुंगाको रासले पुर्ने रहेछ भनेर तर देवीको शक्तिले अहिलेसम्म कसैको खुट्टा चिप्लिएको छैन भनेर भन्दा आत्मविस्वास बलियो भयो । अरू सामान धन भण्डार मै छोडैर पुजाका लागि चाहिने सामान मात्र बोकेको भएर झोला हलुंगो नै थियो । करिव ३/४ घण्टा हिडेर धलपुरा अर्थात बुढीनन्दा माताको थानमा पुग्यौं । बाटोमा राक्षस ताल पनि रहेछ । माताको दर्शन नगरी त्यता हेर्न हुदैन भनेर हेरेनौं हामीले पनि । ढुंगै ढुगाको पहाडको शीरमा ताल देखेर निकै अचम्मित बनायो । कहाबाट कसरी बनेको होला ताल ? पानी बगिरहेको छ र पनि ताल कायम कसरी भयो होला ? यस्ता अनेक रहस्यको गर्वमा बुढीनन्दा तालरहेको छ । करिव १ घण्टा लगाएर तालको परिक्रमा गरी पुजा गर्यौं । पुजा सकाएर फर्किदा राक्षस दह पनि हेर्यौ । बुढीनन्दा जाने भनेपछी गाउमा दाईहरूले राक्षस दहका आनेर किस्सा सुनाएका थिए । बाजा बजाउछ । बेला बेला रूप फेर्छ । बोलाउछ । गित गाएको जस्तो हुन्छ । आदी आदी । तर मैले खास त्यस्तो महसुस गरिन ! जे होस धलपुरी दह ( बुढीनन्दा ताल) भन्दा केही सानो कालो दह रहेछ ।
पुजा सकिए पछी फर्किदा पनि जो जसरी फर्किए हुने रहेछ । हिड्नसक्नेहरू घरै पुग्ने गरी हिड्दा रहेछन ! कोही कुरू, कोही कोल्टी, कोही पाण्डुसैन त कोही पोरखे भने कोही मार्तडीसम्मै पुग्दा रहेछन तर हामी बिस्तारै फर्केकोले कुरू बास बस्यौं । लेकको चिसो, २/३ दिन नुन नखाएको, सवैलाई अलिअलि लेक लागेजस्तो भएकोले आलुको पिरो नुनिलो तरकारी खाने सल्लाह भयो । आलु किनेर कुरूको विद्यालयको एउटा कोठामा पकाएर खायौं । त्यो आलुको तरकारीले दिएको मिठास र सन्तुष्टी सम्झिदा आजसम्म पनि वाह ! हुन्छ । कति मिठो भएको होला ? कचौरा कचौरा थपेर खायौं सवैले ।
कुरू कोल्टी क्षेत्रको लागि तरकारी भण्डार रहेछ । आलु सिमि, मुला (चोतो) उत्पादनका लागि प्रख्यात रहेछ । सिमकुरूको चौर साहेद कुनै बेला ताल थियो होला । त्यतिबेला पनि जमिन हल्लायो भने रसाउथ्यो । २ दिन खाली खुट्टा हिडेका खुच्टाले जुत्ता भेटे, नुन नपाएको जिव्रोले नुन भेट्यो, जाडोले कठ्यांग्रिएको ज्यानले न्यानो भेट्यो, बुढीनन्दामाताको दर्शनले मनमा सन्तुष्टी मिल्यो । कुरूबाट भोलिपल्ट बिहानको खाना पाण्डुसैन ( गोठी बुवाको मामाघरमा) खाना खायौं र त्यही घर पुग्यौं ।
सोह्र वर्षसम्म मेरा यी खुट्टाले कति ठाउ टेकिसक्यो । धौली गाडमा कति पानी बगिसक्यो । छाप्रेको धरमशालामा कतिले आश्रय लिइसके होलान । पिर्या र चुन कति पल्ट फुलेर , झरेर फेरी पलाईसक्यो होला । मैले देखेका मृगहरू कती शिकारीको सितन भइसके होलान । मैले भेटेका तीर्थालुहरू कति कहा पुगिसके होलान र पनि अझैं बुढीनन्दा माताको त्यो दर्शन यात्रा ताजा नै छ । झल्झल्ती आखा अगाडी घुमिररहेको छ ।
हामी (बिरेन्द्र रावल) ले काठमाडौं पढ्दा बस्दा बुढीनन्दा ताल विश्व कै उच्च स्थानमा रहेको ताल हो जसको उचाई समुन्द्रि सतहबाट ४९२५ मिटर छ भनेर दावी गरेका थियौं । नापी विभाग, पर्यटन बोर्ड लगायतका निकायसंग अनौपचारिक पहल गर्यौं । बुढीनन्दा ताल हो की सिमसार हो ? भनेर अध्ययन गर्नुपर्ने राय दिनुभयो । हाल जिल्लाबाटै प्रतिनिधित्व गर्ने माननीय विभागिय मन्त्री बद्री प्रसाद पाण्डे मन्त्री र बुढीनन्दा माता कै छत्रछायामा हुर्केका पर्यटन विभाग प्रमुखका महानिर्देशक डा. नारायण रेग्मीको पालामा बाजुराको पर्यटन विकासका लागि ठोस पहल हुने परिणाम देखिने गरी काम हुनेमा विस्वस्त छु । माताको कृपा सात समुन्द्र पारीसम्म पनि पुगिरहेको छ । फेरी बुढिनन्दा माताको चरण स्पर्श गर्न जाने रहर छ । आज कोल्टीसम्म सहज यातायात सुविधा, स्थानिय तहको विषेस चासोको क्षेत्र पनि भएकोले पहिले जस्तो नहोला ! बुढीनन्दा माता साक्षात शक्तिको प्रतिक र आजिवन अविवाहिता भएकोले मातालाई रातो लुगा, कोरीबाटी गरेको कपाल, मांस मदिरा नपर्ने मान्यता रहेको छ ।
प्राकृतिक सौन्दर्यता र धार्मिक आस्थाको धरोहर माता बुढीनन्दाको पावन भूमी जिवनमा एक पल्ट पुग्नैपर्ने गन्तव्य हो ।
