
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले गत आर्थिक बर्षमा ३० लाख बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०८१।८२ मा ३० लाख ९२ हजार ९ सय ३९ रुपैयाँ राजश्व संकलन गरेको हो ।
गत आर्थिक बर्षमा १० वटा वडा भन्दा सबैभन्दा बढी नगरपालिका राजश्व शाखाबाट २१ लाख ४८ हजार ८ सय २८ रुपैयाँ राजश्व संकलन भएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । उनले घरबहाल कर, सबै बजारहरुलाई दर्ता गर्ने र सरकारी जग्गामा लगाएका टहराहरुको दस्तुर पालिकाले लिने नीतिगत निर्णय गरेपनि त्यो प्रक्रियामा जान नसक्दा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिएको बताएका छन् । त्यस्तै नगर प्रमुख बानियाँले त्यो प्रक्रिया पूरा गर्दै यस बर्षबाट नदीजन्य पदार्थ सबैको राजश्व लिने बताए ।नगरपालिकाले गत बर्षकाे तुलनामा यस बर्ष बढी राजश्व संकलन गरेकाे छ ।
नगरपालिकाले अघिल्लो आर्थिक बर्ष २०८०।८१ मा २३ लाख ८३ हजार ५ सय ९७ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
त्यस्तै, नगरपालिकाका प्रशासन सहायक चन्द्रप्रकाश जोशीले पालिकाले गत आवमा ४७ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेपनि त्यसअनुसार उठाउन नसकेको बताएका छन् । उनका अनुसार व्यवसाय, हातहतियार दर्ता नविकरण र सिफारिस लगायतका शीर्षकमा करवाफत पालिकाले राजश्व उठाउने गरेको छ ।
त्यसैगरी, नगरपालिकाले गत आर्थिक बर्षमा विनियोजित बजेटको ८६ दशमलव १७ प्रतिशत बजेट खर्च गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीका अनुसार गत आर्थिक बर्षमा विनियोजित ५९ करोड ८ लाख २० हजार ७५ रुपैयाँ मध्ये चालु र पुजीगत गरी ८६ प्रतिशत बजेट खर्च भएको छ ।
उनले चालुतर्फ विनियोजन गरेको ३९ करोड ३३ लाख ६९ हजार मध्ये ३४ करोड ८९ लाख ९६ हजार ५९८ रुपैयाँ अर्थात ८८ दशमलव ७१ प्रतिशत बजेट खर्च भएको बताए । त्यस्तै पुजीगततर्फ १९ करोड ७४ लाख ५१ हजार मध्ये १६ करोड १ लाख ७० हजार ९२३ रुपैयाँ अथाृत ८१ दशमलव ११ प्रतिशत खर्च भएको उनले बताएका छन् ।
