
बाजुरा—नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले न्याय र सत्यको लडाइँ जारी रहेको बताएका छन् । बिहीवार देखि जारी पार्टीको पोलिटब्युरो बैठकमा हिजो अध्यक्ष केपी ओलीसँग सवाल जवाफ भएको चर्चापछि थापाले यस्तो बताएका हुन् ।
नेपा थापाले सत्यको पक्षमा लड्ने आफ्नो रजाइँ भएको भन्दै यो जारी रहेको बताए ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेका छन्, न्याय र सत्यको लडाइँ जारी छ । जारी रहनेछ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरी पार्टी काममा फर्किएको घोषणा गरेपछि एमालेभित्र नयाँ ध्रुवीकरण बन्दै छ । स्थायी कमिटी सदस्य थापा भण्डारीको पक्षमा खुलेका छन् ।
उनी उमेर हद र दुई कार्यकालको व्यवस्था लागू गर्नुपर्ने पक्षमा छन् । तर सचिवालय बैठकले भने हटाउने निर्णय लिइसकेको छ । विधान संशोधन प्रस्तावमाथि छलफलको क्रममा हिजो ओलीसँग थापाको सवाल जवाफ समेत चलेको थियो ।
सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित भएपछि थापाले अनुमोदन भएको दस्तावेज अगाडि राखेर बहस गर्नुपर्ने समेत बताउँदै आएका छन् ।
त्यही प्रसङ्गलाई लक्षित गर्दै नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । यस्तो छ उनको भनाइ जस्ताको तस्तैः
न्याय र सत्यको लडाइँ जारीछ । जारी रहनेछ ।
बामदेब, सिपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो । माधवले पार्टी शक्तिको दुरूपयोग गरि केपी, शंकर, प्रदीप, गुरु बराल, देबराज धिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो । कमरेड केपीलाई अध्यक्ष बनाउन सुन्यबाटै सुरू गरियो । सफलताको शिखरसम्म पर्याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहे । म कमरेड केपीको सातौ, आठौं र संसदिय दलको नेताहुने निर्वाचन प्रतिनिधि रहे ।
राजा बिरेन्द्र जीवितै हुदा म बिरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तरवार्ता प्रकासन भएपछि राजाहुन पाउने रबिन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो । त्यो लेख दरबारको नोटिसमा पर्यो । २०१५ सालको एसएलसी टपर प्रकाश चन्द लोहनी होईनन, प्रकाश चन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो । प्रधानन्यायाधीश बिश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरूद्वमा पनि लेखियो, मानहानीको मुद्दा भने खेपनु परेन । यी केही दृष्टान्त मात्रै हुन । यस समयसम्म आई पुग्दा अनेकौं भोगाइहरू छन । सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो । म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सहि कुरा नबुझी , समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।
