
बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाले आगामी साउन १ गतदेखि करार कर्मचारीहरुलाई हाजिर नगराउन आग्रह गरेको । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर शाहीले हालै लागू भएको सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन बमोजिम नै सूचना जारी गरिएको बताए । उनले गाउँपालिकाको निर्णय अनुसार २०८२ साउन १ गतेदेखि करार कर्मचारीहरुलाई हाजिर नगर्न। नगराउन आग्रह गरिएको बताएका छन् ।
उक्त ऐन बमोजिम करार वा ज्यालादारीमा नियक्त गर्न नपाइने र अति आवश्यक भएमा स्वीकृत दरबन्दीमा मन्त्रालयको सहमतिमा कानुन बमोजिम गर्ने उल्लेख भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै यस पत्र विपरित कोही कसैले हाजिर गरे वा गराएको पाइएमा स्वयम् जिम्मेवार हुने समेत जनाएको छ ।
हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ प्रमाणीकरण भएर लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।
