
बसेको छ बाजुरा यो, पर्वतको काखमा
बनी मुटु नेपालको, स्वाभिमानका साथमा ।
हिमालको सिउँदोबाट, शीतल समिर छर्दै
बग्दछ कर्णाली यहाँ, शान्ति, उदात्त भर्दै ।।
चित्र बुन्दै सयौँ खोंच, नदी नाला र डाँडा
बिचमै नागबेली बन्छ, बुढीगंगा जाँदा ।
बुढीनन्दा, नाटेश्वरी, मालिकाकी माई
बढाउँछ श्रद्धाको भाव, आत्मा चेत आई ।।
शौर्य, शान्त, प्रकृतिको, रंग भिन्न भिन्न
बाँचेको छ धर्म यहाँ, नभई छिन्नभिन्न ।
हावा जस्तै चञ्चल छन्, झरना अनि घाँटी
झुल्किन्छ घाम र ताप, तराईसँग साटी ।।
हरियाली पाटन छन्, खप्तडको छायाँ
लुकेर हृदय बस्छ, बाजुराको माया ।
उज्यालो र विश्वास छ, प्रत्येक बाटोमा
अदृश्य सौन्दर्य छ, यहाँको माटोमा ।।
चिसो पवन हिमालको, गीत गुनगुनाउँ
इतिहास छ रहस्यको, चिटिक्क छ ठाउँ ।
कुनो होइन बाजुरा त, सुन्दरताको चोला
भिजेपछि आत्मासम्म, छुटिने को होला ?
