शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • छेडेदह ताल संरक्षणमा सहयोग गर्न पर्यटन मन्त्रालयलाई खप्तड छेडेदहको पत्राचार

छेडेदह ताल संरक्षणमा सहयोग गर्न पर्यटन मन्त्रालयलाई खप्तड छेडेदहको पत्राचार

  • मङ्लबार, असार १७, २०८२
छेडेदह ताल संरक्षणमा सहयोग गर्न पर्यटन मन्त्रालयलाई खप्तड छेडेदहको पत्राचार

बाजुरा—खप्तड छेडेदह गाउँपालिकाले छेडेदह ताल संरक्षणमा सहयोग गरीदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको छ । मंगलवार गाउँपालिकाले बाजुरा जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा रहेको छेडेदह तालको संरक्षण गर्न आवश्यक सहयोग गरीदिन अनुरोध गरेको हो ।

पालिकाको गहनाको रुपमा रहेको छेडेदह ताल पहिरोको उच्च जोखिममा रहेकोमा चिन्ता व्यक्त समेत गरेको छ । गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, “गाउँपालिकाको न्युन बजेट तथा कमजोर आयस्रोत रहेको भन्दै मन्त्रालयबाट छेडेदह तालको अनुगमन गरी यसको संरक्षण तथा बचाउन आवश्यक सहयोग गरीदिन अनरोध गरिन्छ ।”

वडा नम्बर ४ र ७ को विचमा पर्ने छेडेदह तालबाटै गाउँपालिकाको नामाकरण गरिएको हो । हाल पर्यटनमन्त्री बाजुराबाट निर्वाचित बद्रीप्रसाद पाण्डे छन् ।

उक्त ताल लामो समयदेखि पहिरोको उच्च जोखिममा रहेपनि यसको संरक्षणमा सरकारले हालसम्म कुनै पहल गर्न सकेको छैन् । साबिकको गुदुखाती गाविसको वडा नं ९ खातीगाउँ र आटीचौर गाविसको वडा नं–१ लम्गाउँका स्थानीय बीच लामो समयदेखिको सिमाना विवाद हुँदै गएपछि हालसम्म निकासमा पुग्न नसकेको गाउँपालिकाले जनाएको छ ।

छेडेदह ताल मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने गर्छ । रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले तालको महिमा बढी छ । ताल हेर्दा पनि सुन्दर छ, चारैतिर हरियाली, बीच भागमा मनोमहक नै देखिन्छ, तर संरक्षणमा सरकारले चासो नदेखाए यसको अस्तित्व संकटमा पर्ने स्थानीयहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार