बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिकाले क्षेत्रगत रुपमा आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा केही नयाँ अभ्यास सहितका सुरुवातका कार्यक्रम जोडेको छ भने केहीलाई निरन्तरता दिएको छ ।
यस्तो छ क्षेत्रगत नीति तथा कार्यक्रम
शिक्षा,यूवा खेलकुद सम्वन्धी नीति
नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको व्यवस्थित रुपमा कार्यान्वयन गर्दै दिर्घकालीन शैक्षिक योजना निर्माण गर्ने जनाएको छ । नगर प्रमुख जनक बोहराले विगत देखि प्रदान गर्दै आएको माध्यमिक तह कक्षा ११/१२ को निःशुल्क शिक्षा साथै उपचारात्मक कक्षा कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् । उनले जनप्रकाश मा.वि.मा सब इन्जिनियरिङ र वाँधु मा.वि.मा कृषि प्राविधिक शिक्षा व्यवस्थित गरी पठनपाठन कार्यलाई सञ्चालन गर्न आवश्यक पहल गर्ने बताए ।
त्यस्तै चिन्ता र चासो भविष्यको बाटो भन्ने मुल नाराका साथ कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुलाई करिअर काउन्सेलिङ कार्यक्रम संचालन गरिने नगर प्रमुख बोहराले बताए । उनले प्राविधिक उच्च अध्ययनको लागि सामुदायिक विद्यालय अध्ययन गरेका महिला हलिया, खलिया भोटेजनजाति, मुस्लिम, द्धन्द पीडित गरी २० जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति प्रदान कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
त्यस्तै नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा मात्र होईन सीप पनि आवश्यक कार्यक्रम तथा मावि तहका विद्यालयमा पहिलो चरणमा पढ्दै कमाउदै कार्यक्रमको सुरुवात गर्ने जनाएको छ ।
स्वास्थ्य सम्वन्धी नीति
आगामी आवबाट नगरपालिकाको सहकार्यमा २५ शैया अस्पताल निर्माण कार्य सुरु गर्ने, स्वास्थ्य विमाको पहुचँमा बृद्धि गर्न सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई अनिवार्य स्वास्थ्य बिमामा आवद्ध गर्ने जनाएको छ ।
त्यस्तै ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई सवै वडाहरुमा विस्तार गर्ने र पाण्डुसैन स्वास्थ्य चौकीबाट नियमित भिडियो एक्सरे सेवा उपलब्ध हुने व्यवस्था मिलाइने जनाएको छ ।
त्यसैगरी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा इन्टरनेट जडान, संघ तथा प्रदेश स्वास्थ्य निकायसँग समन्वय गरी वर्षमा एक पटक स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने उल्लेख गरिएको छ ।
कृषि तथा पशुसेवा सम्वन्धी नीति
यस्तै, रैथाने बालीको संरक्षण तथा त्यसबाट बनेका सामाग्रीहरु संकलन गरी पालिकाको केन्द्र कोल्टी बजारमा “बुढीनन्दा कोशेली घर” स्थापना गरी बजारीकरण गर्न उल्लेख गरेको छ । “कृषकसँग नगर प्रमुख” कार्यक्रमलाई निरन्तरता, सम्भावना भएका वडाहरुमा कृषि तथा पशुजन्य पकेट क्षेत्र स्थापना गर्न पहल गर्ने बताएको छ ।
पूर्वाधार विकास सम्वन्धी नीति
वडा नम्बर १ को सिउँडेनीमा निर्माणाधिन टेलिकमको फोर्जी टावर निर्माण कार्य सम्पन्न गर्न पहल गर्ने छ साथै अन्य फोर्जी टावरहरुको स्तरोन्नती गर्न पहल गर्ने जनाएको छ । त्यस्तै आगामी आवमा विद्युत प्राधिकरणसंग सहकार्य गरी पालिकालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने, नगरपालिकाको धौलीमा अतिथी गृह निर्माण गरी संचालनमा नगर उपप्रमुख राम बहादुर बोहराले बताए ।
त्यस्तै नेपालकै गौरबको मुगु कर्णाली जलविद्युत आयोजनाको मुख्य कार्यालय स्थापनाको लागी विशेष पहल गर्ने, वडा नं. ४ को कुरु देखी घोडाकोट सम्म सडक बिस्तार गरी सडक संजालमा जोड्ने उनले बताए ।
उनले नगरपालिकाको केन्द्र कोल्टीमा २५ शैयाको अस्पताल निर्माण गर्न आवश्यक प्रकृया अगाडी बढाइने, नदी तथा नदीजन्य पदार्थको उत्खनन, संकलन, प्रशोधन तथा बिक्रीका लागि आवश्यक निति बनाई लागु गरिने बताए ।
उद्योग,वन पर्यटन तथा युवा रोजगारी
संघ र प्रदेश सरकार संगको सहकार्यमा घरेलु तथा साना उद्योगहरुलाई प्रोत्साहन गर्न नगरपालिकामा एक औद्योगिक क्षेत्र स्थापना गर्न पहल गर्ने जनाएको छ । त्यस्तै कोल्टीमा सपिङ्ग कम्पलेक्स र जडीबुटी प्रशोधन केन्द्र स्थपना गरी संचालनमा ल्याउने, कोल्टी आयुर्बेद औषधालयको परिषर भित्र आयुर्बेद तथा जडीबुटी पर्यटन पार्क निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै, कालाजग्रा मन्दिर जान पोरखे देखी कालाजग्रा सम्म पर्यटकिय पदमार्ग निर्माणको सम्पन्न गर्ने, कोल्टी निर्माण सम्पन्न भएको कोल्ड स्टोर र हाटबजार लाई थप स्तरोन्नती गरी संचालनमा ल्याउने जनाएको छ ।
सहकारी सम्वन्धी नीति
पालिकामा दर्ता भएका र वडाहरुमा कार्यक्षेत्र बनाई अन्य पालिकामा दर्ता भएका सहकारीहरुलाई अनिवार्य पालिकामा दर्ता/ अभिलेखिकरण गराई बार्षिक सेवा कर असुल गराइने छ ।
वन तथा वातावरण संरक्षण नीति
१. प्राकृतिक रुपमा रहेको जैतुनहरु लाई संरक्षित गरी वडा नं १,२ र ६ लाई जैतुन जोन घोषणा गर्न आवश्यक नीति बनाई लागु गर्न पहल गर्ने जनाएको छ ।
खानेपानी तथा सरसफाई नीति
आधारभूत खानेपानी तथा सरसफाईको समस्या समाधानका लागि “एक घर एक धारा” अभियान लाइ साकार गर्न आवश्यक पहल गर्ने, “भान्सा सुधारः आरोग्यताको आधार” अभियानलाई निरन्तरता दिएको छ ।
सामाजिक तथा सास्कृतिक विकास नीति
नगर बासी युवाहरुको सहभागितामा नगरको त्रि–बर्षिय युवा रणनीतिक योजना तयार गर्न “बुढीनन्दा युवा सम्मेलन २०८२” कार्यक्रम संचालन गर्ने बताएको छ । त्यस्तै नगरपालिकामा रहेका हलिया/खलियाको तथ्याङ्क संकलन गरी आवश्यक व्यवस्थापन गर्न पहल गरिने उल्लखे गरिएको छ ।
संस्थागत सुशासन तथा पारदर्शीता नीति
बुढीनन्दा नगरपालिका तथा अन्य ४ वटा पालिकालाइ लक्षित गरी कोल्टीमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागी बिशेष पहल गरिने जनाएको छ । त्यस्तै पालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरु लाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने , वडा कार्यालयमा संकलन हुने विद्युतीय राजस्व प्रणालीलाई व्यवस्थित बनाउने जनाएको छ ।
यस्तै, भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको नीति, सामाजिक सरक्षा लाभग्राहिहरुलाई राष्ट्रिय परिचय पत्र बायोमेट्रिक भेरिफिकेशन माध्यमबाट भत्ता नविकरण कार्यलाई अनिवार्य गर्ने भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक नीति
“सानै छु बढ्न देऊ, बालबिवाह होईन पढ्न देऊ” अभियान सञ्चालन गर्ने जनाएको छ ।
विपद व्यवस्थापन सम्बन्धी नीति
विपद व्यवस्थापनका लागि नगरपालिकामा आवश्यक बजेट व्यवस्थापन सहितको विपद व्यवस्थापन कोष स्थापना गर्ने जनाएको छ ।