शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • वैदिक धर्ममा गौमाताको महत्व

वैदिक धर्ममा गौमाताको महत्व

  • शुक्रबार, असार १३, २०८२
वैदिक धर्ममा गौमाताको महत्व

गाई मातालक्ष्मी स्वरुपा हुन् । यिनको पूजा गर्नाले सम्पूर्ण देवताहरुको पूजा हुन्छ । गाईको निधारमा शिवजी, दायाँ सिंगमा ब्रह्मा र वाँया सिंगमा विष्णु भगवानको वास हुन्छ । हिन्दू धर्मावलम्बीहरुको लागि जन्म, मृत्यु, विवाह, उपनयन, पूजा, पुराण श्रवण आदि जुनसुकै कर्म गर्दा गाई दान नगरीकन हुँदैन । पृथ्वीमा रहदा वस्दा जानी वा नजानी गरेको पाप नाश गर्न वेद पढी शुद्ध ब्राह्मणलाई गाई वा बाछी दान गर्नुपर्छ । गाईदानबाट ठूला ठूला पाप समूह समेत नष्ट हुन्छन् ।

मानिसको मृत्यु हुने समयमा गाई दान गरेर वैतरनी नदी तार्ने विश्वास गरिन्छ । गाई दान गरेको छैन भने मृतकको आत्माले ठूलो कष्ट पाउँछ । गाई र ब्राह्मणलाई पृथ्वी लोकमा देवता रुप भनेर वेद र पुराणहरुले भनेका छन् । गाईको दूध, दही, घिउ, गोवर र गहुँतलाई पंचगव्य भनिन्छ । यसको सेवनबाट ब्रह्महत्या आदि पापहरु समेत नाश हुन्छन् । गाईको दूध, दही र घिउको नियमित सेवन गरेको खण्डमा आयु लामो हुन्छ । पाप नाश हुन्छन् । रोग लाग्दैन तथा मस्तिष्क स्वस्थ र शान्त हुन्छ । कार्तिक कृष्ण औसीमा गाई र वृषभको पूजा गर्ने शास्त्रीय विधि रहेको छ । गाईलाई कामधेनु भनिन्छ । धर्मशास्त्रमा गाईको ठूलो महत्व छ । भगवान् विष्णुका अवतार श्रीकृष्णले द्वापर युगमा भारतको गोकुल र बृन्दाबनमा संसारी लिला गर्दा ९ लाख गाई पाल्नु भएको थियो । भगवान शिव, विष्णु आदि ईश्वरलाई गाईको दूध चढाएर पूजा आराधना गरिन्छ ।

तर विडम्बना ! हिजो आज धर्मनिरपेक्षताको नाममा गाईको अपमान गर्दै केही हिंस्रक व्यक्तिहरुले गोमातालाई काट्न थालेको सुन्दा र देख्दा यस्तो लाग्छ कि यो संसारमा बाँचेर पाप र अधर्म हेर्नु भन्दा प्राण त्याग गर्नु जस्तो लाग्छ । गोहत्यारो र ब्रह्महत्यारोलाई देखियो भने पनि बस्त्र सहित स्नान गर्नू भन्ने वेदशास्त्रको मर्यादा रहेको छ । गाईको भाले बृषम हुन् । यिनलाई सनातन धर्मको रुप धर्मराज तथा परमेश्वर शिवका प्रमुख गण र वाहन नन्दि समेतको रुपमा पूजा गरिन्छ । तर विडम्बना ! मानिसलाई केहीले नपुगेको !

गाई गोरु समेत मारेर क्षणभरमा नाशवान शरीर पोस्न समेत मानिसले बाँकी राख्न छोडे । क्रिश्चियन र मुसलमान धर्ममा पनि मासु खान निषेध छ । तर खै मनुष्यले यो जंगली प्रवृत्ति कताबाट कसरी सिके ? ठूलो आश्चार्य यसमा रहेको छ । गाईको गोबरले घर लिप्ने गरिन्छ । गाईको गहुँतमा लाखौं रोग निकोपार्ने औषधि हुन्छ । सूतक र जुठोमा गहुँत नखाई चोखिँदैन र यस्तो पवित्र गाईलाई राष्ट्रिय जनावरको रुपमा सबै नेपालीले संमान गरेका थिए । तर नयाँ नेपालको खोक्रो आडम्बर बोकेर किन हो कुन्नि गोहत्याको कर्म हुन थालेको देखिन्छ । यस कुकर्मलाई नरोक्नु मानिस जातिको मुर्खता हो ।

हालको नेपालको संविधान २०७२ को मस्यौदामा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नु सकारात्मक पक्ष हो अझ हामीले गाइको हत्या गर्नेलाई जन्म कैदको सजायको व्यवस्था संविधानमा गर्नु पर्छ , गाईलाई अन्य जनावर सरह ठान्नुहुन्न । नयाँ पुस्तालाई हिन्दुधर्म,गौमाता तथा आफ्ना माता पितालाई सम्मान गर्नुपर्छ भन्ने भावना नहुनु हाम्रो शिक्षा नीति र प्रणाली गलत भएकोले हो ।

चर्चामा

सम्बन्धित समाचार