
धनगढी — सुदूरपश्चिमलाई बिहीबार एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकका आधारमा साक्षर प्रदेश घोषणा गरिएको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताएका छन् ।
त्यस्तै मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेशको घोषणा गरेका हुन् । २६ लाख ९४ हजार ७८३ जनसंख्या, ८८ वटा स्थानीय तह र नौ वटा जिल्ला रहेको सुदूरपश्चिम साक्षर घोषणा हुने चौथो प्रदेश भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो। सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो। यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलव २०, कञ्चनपुरमा ९६ दशमलव २१, अछाममा ९५ दशमलव ५५, डोटीमा ९६ दशमलव ५५, बाजुरामा ९७ दशमलव ३१, बझाङ ९५ दशमलव ६०, डडेलधुरामा ९६ दशमलव आठ, बैतडीमा ९६ दशमलव ५३ र दार्चुला जिल्लामा ९५ दशमलव ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
