
बाजुरा– बडीमालिका नगरपालिका–७ मा रहेको छाउपडी गोठको अनुगमन गरिएको छ । छाउपडी प्रथा अन्त्य गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरूको संयुक्त टोलीले बिहीबार विभिन्न स्थानमा अनुगमन गरी अझै पनि बाँकी रहेका गोठहरू तत्काल हटाउन सम्बन्धित परिवारलाई निर्देशन दिएको हो ।
अनुगमनका क्रममा एक दर्जन भन्दा बढि गोठमा अझै महिलाहरूलाई महिनावारी भएका बेला बस्ने गरिएको पाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । ती परिवारलाई तत्काल गोठ भत्काएर सुरक्षित ठाउँमा बस्न सुझाव दिइएको वडा अध्यक्ष पाध्यायले जानकारी दिए ।
छाउपडी प्रथाले महिलाको स्वास्थ्य, सुरक्षामाथि गम्भीर असर पार्दै आएकोले नगरपालिकाले यसलाई पूर्ण रूपमा अन्त्य गर्न विशेष अभियान थालेको वडाध्यक्ष पाध्यायले बताए । उनले भने, “अब गोठमा बस्नेलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनेछौं, समाज रूपान्तरणका लागि सबैजना जिम्मेवार बन्नुपर्छ।”
अनुगमन टोलीमा बडीमालिका नगरपालिका ७ का वडाध्यक्ष धर्मराज पाध्याय, बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखा सहायक महिला निरीक्षक बिन्दु बडार र शोभा शाही, वडा सदस्यहरु डवल विक, लोकेन्द्र रोकाया, वडा सचिव सरिता ठगुन्ना प्रहरी र पत्रकारको सयुक्त टोलीको अनुगमनमा सहभागिता रहेको थियो ।
टोलीले विशेष गरी रजातोली, माउलेख, सुन्काना र पोखराका घर–परिवारमा पुगेर गोठको अवस्था हेरेको र आवश्यक सचेतना पनि दिएको वडा महिला तथा बालबालिका शाखा सहायक महिला निरीक्षक बिन्दु बडालले बताएकी छन । यस पटकको अनुगमनपछि स्थानीयवासीले छाउपडी गोठ भत्काउने प्रतिबद्धता व्यक्त गरेको बडालले बताएकी छन ।
