
बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकाले पालिका भित्र रहेको ब्यरोजगार समस्या समाधानका लागि ५ बर्षिय रणनितीक योजना बनाउने तयारी थालेको छ । रोजगारका अवसर र दिर्घकालिन समस्या समाधानका लागि सो योजना निर्माण गर्न थालिएको हो । “श्रमको सम्मान, राष्ट्रको अभियान“ भन्ने मूल नाराका साथ बडीमालिका नगरपालिकाले आगामी पाँच वर्षका लागि समावेशी, व्यवहारिक र दिगो रोजगार रणनीति योजना तर्जुमा गर्ने प्रक्रिया सुरु गरेको नगर प्रमुख अमर खड्काले बताएका छन ।
आर्थिक वर्ष २०८२/०८३ देखि २०८६/०८७ सम्मको अवधिका लागि निर्माण हुने रणनीति योजना नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को प्राविधिक सहयोगमा तयार गरिने नगर प्रमुख खड्काले बताए । नगर प्रमुख खड्काले भने, “हामीले युवालाई गाउँमै रोजगारीको वातावरण बनाउने उदेस्यका साथ अगाडी बढेका छौँ । रणनीति केवल कागजी दस्तावेज नभई व्यवहारमा उतार्ने सम्मको पुर्व तयारी गरिरहेका र कार्यन्वयन गर्न योेजना निर्माणको थालनी गरेको बताए” ।
युवाशक्ति देशको मेरुदण्ड भएको उल्लेख गर्दै नगर प्रमुख खड्काले भने, “हामीले अब रोजगारको आयाम स्थानीय स्रोत र सम्भावनासँग जोडेर जाने बताए । हाम्रा युवा बाहिरिने क्रम रोकेर गाउँमै सशक्त बनाउन रोजगार रणनीति प्रभावकारी माध्यम बन्न सक्छ।” उनले रणनीति कार्यान्वयनका लागि नगरले आवश्यक बजेट विनियोजन गरि यसै बर्षदेखी कार्यक्रमको थालनी गरिने बताएका छन ।
त्यसै गरि नगर उप–प्रमुख नन्दा कुमारी थापाले बिभिन्न समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकता राख्ने गरी यो योजना निर्माण गर्न थालेको बताएकी छन । उप प्रमुख थापाले भनिन् रणनीति स्थानीय आवश्यकता अनुसार जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने गरी बनाउन सबैको सहयोग र सर्मथनको आबस्यकता रहेको बताईन । उप–प्रमुख थापाले महिलालाई लक्षित स्वरोजगार तालिम, उद्यमशीलता विकास र लघुवित्तमार्फत आत्मनिर्भर बनाउने कार्यक्रम रणनीतिमा स्पष्ट रुपमा उल्लेख गरेर नगरको ब्यरोजागरी समस्या समाधन गरिने बताएकी छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्राबिधीक सहयोगमा बन्न लागेको सो रणनीतिमा स्थानीय जनसहभागिता र सुझावहरू समावेश गरी छिट्टै अन्तिम मस्यौदा सार्वजनिक गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले बताएका छन ।
कार्यक्रममा रोजगारको बहुआयामिक पक्षमाथि छलफल गरिएको थियो। सहभागीहरूले कृषि, पर्यटन, घरेलु उद्योग, सीपमूलक तालिम, वैदेशिक रोजगारी, महिला तथा दलित लक्षित कार्यक्रम, स्वरोजगार प्रवद्र्धन जस्ता विषयमा सुझावहरू दिएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख रहेका थिए । कार्यक्रममा उप–प्रमुख नन्दा कुमारी थापा, सबै वडा वडाअध्यक्षहरु, विभिन्न शाखाका प्रमुख, जनप्रतिनिधिहरू, पत्रकार, लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। रोजगार शाखा प्रमुख प्रमिला थापालेसञ्चालन गरेको कार्यक्रमको सूचना अधिकारी पुष्प भट्टले सहजीकरण गरेका थिए।
नगरपालिकाले अन्तरक्रिया र सुझावहरूमार्फत संकलित विचारहरूलाई समेटेर योजना मस्यौदाको परिमार्जित संस्करण तयार पार्ने बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख प्रमिला थापाले बताएकी छन । योजना अन्तिम रूप लिएपछि नगर सभाबाट स्वीकृत गरी कार्यान्वयनको चरणमा प्रवेश गरिने उनले बताइन ।
