बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५० कराेड बढीको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँ सभाकाे १७ अौं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले आर्थिक बर्षका लागि ५० करोड ८ लाख ८६ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले गाउँसभाबाट सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।
जसअनुसार शिक्षामा २ कराेड ३५ लाख, स्वास्थ्यमा १ कराेड, कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च ८ कराेड ९५ लाख १८ हजार विनियोजन गरिएको छ । त्यस्तै कृषिमा ३० लाख, पशु सेवा शाखामा १५ लाख, महिला बालबालिका समाजकल्याणमा १५ लाख, पाेषणमा १० लाख, पर्यटनमा १० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा ३० लाख बजेट विनियोजन गरिएको छ । त्यसैगरी, ७ वटै वडा कार्यालयका लागि ३ कराेड, क्रमागत याेजनातर्फ विविध १ कराेड, भाैतिक पूर्वाधार निर्माण ४ कराेड ३८ लाख ३२ हजार प्रस्तावित बजेट विनियोजन गरिएको जनाएको छ ।
त्यस्तै गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोतबाट ३५ लाख रुपैयाँ रहने अनुमान गरिएकाे छ । संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १० करोड ५२ लाख, सशर्त अनुदान २२ करोड १७ लाख, समपुरक र बिशेष अनुदान २ कराेड ८९ लाख र बाँडफाँडकाे ८ करोड ७० लाख रहने प्रस्तावित आय रहने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारकाे समानिकरण अनुदान ९९ लाख ६८ हजार, समपुरक १ कराेड १२ लाख र राजश्व बाँडफाँड २५ लाख १८ हजार रहने अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतकाे अध्यक्षतामा सञ्चालन भएको गाउँसभामा उपाध्यक्ष बिशुदेवि नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत लगायत सभा सदस्यहरुकाे उपस्थिति रहेको थियो ।