बाजुरा– जगन्नाथ गाउँपालिकाको दोस्रो अधिवेशन तथा १६ औं गाउँसभा बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रू. ३१ करोड ७२ लाख २४ हजार ६ सय ३२ रुपैयाँ बजेट पारित गरेको छ । विभिन्न क्षेत्रगत शीर्षकमा सो बजेट विनियोजन गरिएको हो । विनियोजन विवरण अनुसार आर्थिक विकासमा रु ४ करोड ३१ लाख, सामाजिक विकासमा रु १३ करोड ७३ लाख ७७ हजार, पूर्वाधार विकासमा रु ४ करोड ३० लाख ७९ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु ५३ लाख,
कार्यालय सञ्चालन तथा प्रशासनमा रु ८ करोड ८३ लाख ६८ हजार ६ सय ३२ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । उत्कृष्ठ कृषि तथा पशुपालन व्यवसाय, शिक्षण, कर्मचारी सेवा, खेलकुद र शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने ब्यक्तीहरूलाई पुरस्कृत गरिएको छ ।
जसमा पुरस्कृत र सम्मानित हुनेमा शिक्षक नन्द बहादुर बिष्ट, कर्मचारी जय बहादुर साउँद , कृषक बृख रोकाया, जयकर्ण बडुवाल, बिरबल सार्की शक्क शाही, रहेका छन भने पशुपालक कृषक दमन बहादुर शाही, धनरुप सार्की धनमल सार्की रहेका छन । त्यसै गरि पालिकाकै कक्षा ८ को परिक्षामा उत्कृष्ठ हुने धर्मेन्द्र दमाइ, कक्षा ५ को परिक्षामा उत्कृष्ठ सोनिया गिरी र राष्ट्रपति रनिङ्ग शिल्ड प्रथम हुने अस्मिता टमट्टा रहेका छन । यी सबै व्यक्तिहरूलाई जनही रु ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले कार्यक्रममा बोल्दै भविष्यमा समेत यस्ता योगदानकर्तालाई हौसला प्रदान गरिने प्रतिबद्धता जनाएका छन्। यस निर्णयबाट स्थानीयस्तरमा सिर्जनशीलता, प्रेरणा र प्रतिस्पर्धात्मक भावना थप बलियो हुने अपेक्षा गरिएको छ ।