बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरपालिका प्रमुख राम बहादुर बानियाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार’ भन्ने नारासहित शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा सुधार ल्याउने उद्देश्यले नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए ।
आगामि बर्षको निती तथा कार्यक्रममा बुढीगंगा नगरपालिकाको आफ्नै आयोजना बैंक निर्माण गरी कार्यान्वयन गरिने नितीमा उल्लेख गरिएको छ । बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग आबद्ध गरी लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रुपमा अनुशरण गरिने जनाएको छ ।
समृद्ध नगर निर्माणका लागि नगरपालिकाको आन्तरिक श्रोतहरू पहिचान गरी आन्तरिक आम्दानी वृद्धि गर्न नगरपालिकाको आर्थिक ऐन परिमार्जन गरिने । व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य सङ्कलन गरिनेछ । खाली तथा सरकारी जग्गामा बनेका निजी संरचनाहरूको करको दरलाई एकीकृत गरी राजश्व सङ्कलन गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसै गरि कृषि तथा पशुपालन पेशालाई मर्यादित र सम्मानित बनाउनका निम्ती उत्कृष्ट कृषकहरूलाई वितरण गरिदै आएको नगरप्रमुख कृषि पुरस्कारलाई निरन्तरता दिइने नितीमा उल्लेख गरिएको छ ।
एक घर, एक धारा अभियानलाई सुचारू गरी नगर भित्रका सबै जनताहरूलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँचमा पुर्याइने नगरपालिकाले निती लिएको छ । साविकका गा.वि.स. हरूमा बृहत् खानेपानी योजना सञ्चालन गरिनेछ । ऐतिहासिक महत्वका पुराना ढुङ्गेधाराहरूको मर्मत सम्भार र पुनःनिर्माण गरिने जनाएको छ ।
समयमै गुणस्तरयुक्त काम सक्ने निर्माण व्यवसायी, सबैभन्दा बढी कर तिर्ने करदाता, उत्कृष्ट विद्यालय, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सहकारी तथा सामाजिक संस्था र बुढीगंगा नगरपालिकाको विकासका लागि विशेष योगदान दिने व्यक्तित्वहरूलाई प्रोत्साहन स्वरुप गरिने सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ ।