शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराबाट १२ हजार जना गए वैदेशिक रोजगारीमा

बाजुराबाट १२ हजार जना गए वैदेशिक रोजगारीमा

  • आइतवार, असार ८, २०८२
बाजुराबाट १२ हजार जना गए वैदेशिक रोजगारीमा

बाजुरा– बाजुराबाट १२ हजार बढी नागरिक वैदेशिक रोजगारीमा गएका छन् । जिल्लाबाट करिब १८ बर्षको अवधिमा १२ हजार ५७ जना वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार २०६४ साल देखि ०८२ बैशाख मसान्तसम्म जिल्लाबाट सो संख्यामा वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ११ हजार ३ सय ६९ पुरुष र ८ सय ८८ जना महिला जिल्लाबाट वैदेशिक रोजगारीका लागि देश बाहिर गएको तथ्थांकमा उल्लेख गरिएको छ । सो अवधिमा ९ जनाको मृत्यु र ६ जनाको अंगभंग र बिरामी भएर फर्किएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, आर्थिक बर्ष २०८१ । ८२ को साउन देखि बैशाख मसान्तसम्म बाजुरा जिल्लाबाट २ हजार ५ सय ४३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । त्यस्तै सो अवधिमा सुदूरपश्चिम प्रदेशबाट ३६ हजार ८ जना वैदेशिक रोजगारमा गएका पाइएको छ ।
रोजगारीका लागि चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवाहरू वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएको र दुःख पाएका हुन्छन् । ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने देखिन्छ ।

त्यस्तै बाजुराको बडीमालिकामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतवार रोजगार सेवा केन्द्र बडीमालिका नगरपालिकाको आयोजना र आप्रवासी स्रोत केन्द्र(सामी) को समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।
वैदेशिक रोजगारमा जानुअघि त्यसबारे पूर्ण जानकारी दिने र सूचना प्रवाहमा सञ्चार माध्यमको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै अन्तरक्रिया कार्यकम गरिएको बडीमालिका नगरपालिका रोजगार संयोजक प्रमिला थापाले बताइन् । उनले कुनै व्यक्ति वैदेशिक रोजगारीमा जानुअघि पर्याप्त सूचनाको अभाव र विभिन्न प्रलोभनमा परी ठगीने जस्ता समस्यामा पर्ने भन्दै पत्रकाहरुले तथ्यगत सूचना आमनागरिक माझ पुर्याउनु पर्ने बताइन् । त्यस्तै उनले कसैले पनि वैदेशिक रोजगारीमा जानुअघि त्यस सम्बन्धी पूर्ण जानकारी लिएर मात्रै जान सबैलाई आग्रह गरिन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जानकारी, कानुनी तथा मनोसामाजिक परार्मश, सीप विकास र वित्तीय साक्षरता दिन आप्रवासन स्रोत केन्द्र स्थापना गरिएको छ ।
पत्रकारहरुसँगको अन्तरक्रियामा सुरक्षित आप्रवासन स्रोत केन्द्रकी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारीमा जानेको संख्या, अवस्था, यसका चुनौति, यस सम्बन्धी पर्ने उजुरी लगायतका बिषयमा सहजीकरण गरेकी थिइन् । उनले यस्ता कार्यक्रम वैदेशिक रोजगारीमा जाने सबै चरणमा आप्रवासी कामदार र उनीहरुका परिवारको अवस्था सुधार गर्न तीनै तहका निकायलाई सक्षम बनाउन सहयोग गर्ने बताइन् । देशमा सीमित रोजगारीका अवसर, गरिबी, विभिन्न प्रलोभन लगायतका कारणले बर्षेनी वैदेशिक रोजगारी जानेको संख्या बढ्दै गएको उनले बताइन् ।

बडीमालिका नगरपालिका रोजगार संयोजक प्रमिला थापाको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाजुराकी उपाध्यक्ष संगीता तिमिल्सेना रहेकी थिइन । त्यस्तै अतिथिमा आप्रवासन स्रोत केन्द्रकी कार्यक्रम अधिकृत लक्ष्मी चौधरी, कर्मचारी लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो। आप्रवासन स्रोत केन्द्र प्रमुख प्रकाश खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रोजगार सहायक दल बहादुर दानीले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार