
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा विनियोजन गरिएको छ। प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना निर्माणका लागि करोडौँ बजेट विनियोजन गरेको देखिएको हो।
आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइमार्फत कार्यान्वयन हुने गरी प्रदेशको नौ वटै जिल्लामा १९१ धार्मिक संरचना निर्माणका लागि सरकारले २९ करोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारले सबैभन्दा बढी मन्दिर निर्माणमा बजेट विनियोजन गरेको छ। हवनकुण्ड, धर्मशाला, मन्दिरको पर्खाल निर्माणमा पनि ठुलो बजेट विनियोजन गरिएको छ। ख्रिस्टीय मण्डली, मस्जिदलगायतमा पनि बजेट हालिएको छ। प्रदेश सरकारले कुल देवताको मन्दिरदेखि न्यौपाने समाजको मन्दिर निर्माणसम्म बजेट विनियोजन गरेको छ।
धार्मिक संरचना निर्माणका लागि न्यूनतम सात लाखदेखि बढीमा एक करोड ५० लाख रुपियाँसम्म बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम पुस्तिकामा उल्लेख भएको विवरण अनुसार सबैभन्दा धेरै धार्मिक संरचनामा १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।
यस्तो संरचना निर्माणका लागि सबैभन्दा बढी कैलालीमा बजेट विनियोजन गरेको छ। सबैभन्दा कम बाजुरामा बजेट रहेको छ। कैलालीमा ६१ वटा धार्मिक संरचना निर्माणका लागि जम्मा ११ करोड ३३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।
