बाजुरा– बाजुराका करिब दुई बर्ष बिरामीको सेवा गरेका मेडिकल अधिकृत डाक्टर प्रकाश बहादुर बुढाको बिदाई गरिएको छ । दुई बर्षदेखि जिल्ला अस्पताल बाजुरामा दिनरात नभनी बिरामीको उपचारमा खटिएका डाक्टर बुढाको बिदाई गरिएको हो ।
निक्साइमन्स् इन्च्ट्यिुज (एनएसआई) बाट बाजुरामा आएका डाक्टर बुढाले जिल्ला अस्पतालमा दुई बर्ष सेवा गरे । डाक्टर बुढाले सो अवधिमा आपतकालीन प्रसुति सेवामा शल्यक्रियामार्फत सयौंको संख्यामा बिरामीको सफल उपचार गरेको अस्पतालले जनाएको छ ।
त्यस्तै सय बढी सुत्केरी हुन नसकेकी महिलाको पेट काटेर बच्चा मात्र निकालेनन् अकाल मृत्युबाट आमाहरूलाई बचाए । केही घण्टाभित्रै अप्रेसन नगरे मृत्यु हुन सक्ने बिरामीको शल्यक्रिया गरेर पुनर्जीवन दिएका छन् । पाठेघरमा मासु पलाएका, पाठेघर बिग्रिएर फाल्नुपर्ने अवस्थामा पुगेका तर खर्च अभावमा रोग पालेर बसेका महिलाको शल्यक्रिया गरे । त्यस्तै अस्पतालमा एक्सरे, भिडियो एक्सरे सेवा समेत दिदै आएको थिए ।
दुई वर्षको छोटो अवधिमै उनी बिरामीका भगवान् बनेर सेवा गरे । उनको गृह जिल्ला अछाम हो । दुर्गमका बिरामीका लागि भगवान् जस्तै बनेका डाक्टर बुढाको बिदाइ समारोहमा उपस्थित धेरैका आँखा रसाए ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले सेवा अवधिभर डाक्टर बुढाले लगनशील र इमान्दारीका साथ बिरामीको उपचार सेवामा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
शुक्रवार जिल्ला अस्पतालले एक औपचारिक कार्यक्रमविच बिदाई गरेकोमा आज बाजागाजा, फूलमाला सहित जिल्लाबाट बिदाई गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।