
बाजुरा—संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बाजुराको बाम्का बजारका अग्नीपीडितका लागि आर्थिक सहयोग भएको छ । बाजुराबाट निर्वाचित बद्रीप्रसाद पाण्डे मन्त्री रहेको मन्त्रालयबाट ३ लाख ४५ हजार ७ सय ६५ रुपैयाँ सहयोग भएको हो ।
आगलागीबाट पीडितहरुका लागि मन्त्री पाण्डेसँगै मन्त्रालयका कर्मचारीहरुबाट सो रकम सहयोग भएको मन्त्रीका मुख्य स्वकिय सचिव ताल बहादुर रावतले बताएका छन् । उक्त रकम राहत संकलन तथा व्यवस्थापन समितिको बैंक खातामा जम्मा भइसकेकाे उनले बताए । पर्यटन मन्त्रालयका मन्त्री, कर्मचारी सहित पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मी लगायत कर्मचारीहरुबाट उक्त रकम सहयोग भएको जनाएको छ ।
यसअघि मन्त्री पाण्डे बाम्का बजारमा आगलागी भएको २४ घण्टा नबित्दै घटनाको जानकारी लिन स्थलगत निरीक्षणमा समेत पुगेका थिए ।
आगलागी पीडितका लागि हालसम्म ७८ लाख बढी रकम संकलन भएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक सहयोग भइरहेको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत भइरहेको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
