बाजुरा—बडीमालिका नगरपालिका स्तरीय युवा सञ्जालको आयोजनामा मार्तडी बजार सरसफाई गरिएको छ । बिहीवार नगर स्तरीय युवा सञ्जालको आयोजना तथा स्थानीय स्काउट बडीमालिका नगरपालिकासँगको समन्वयमा सरसफाई कार्यक्रम गरेको हो ।
बडीमालिका नगरपालिका युवा सञ्जालका अध्यक्ष सन्तोष विकले नेपाल स्काउटको स्थापना दिवसको अवसरमा बजार सरसफाई गरिएको बताए । सरसफाई कार्यक्रम मालिका माध्यमिक विद्यालयबाट सुरु गरेर गैरीबजार, लोकतान्त्रिक चोक हुदै वन कार्यालयसम्म सरसफाई गरिएको उनले बताए । त्यस्तै अध्यक्ष विकले बजार सरसफाई सँगै व्यवसायीहरुलाई फोहोर व्यवस्थापन गर्न भन्दै अनुरोध समेत गरिएको बताए ।
बडिमालिका नगरपालिका स्तरिय युवा सञ्जालले सरसफाई कार्यक्रमसँगै विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । बजार सरसफाई कार्यक्रममा युवा सञ्जालका प्रतिनिधिसँगै स्काउटका विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै जिल्लाको सदरमुकाम मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको व्यवस्थापन गर्न युवा सञ्जाल सँगै जिल्ला समन्वय समिति र नगरपालिकाले अभियानका रुपमा सरसफाई कार्यक्रम सञ्चालन गरेका छन् ।
बजार सरसफाईसँगै फोहोर वस्तु नगरपालिकाको टिपरमा संकलन गरेर थप सरसफाईमा ध्यान दिन पटक पटक बजार व्यवसायीहरुलाई सचेत समेत गराइदै आएको छ ।