बाजुरा—पर्यटन विभागका कर्मचारीहरुबाट बाजुराको बाम्का बजारका आगलागी पीडितलाई आर्थिक सहयोग भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका कर्मचारीहरुले अग्नीपीडितलाई आर्थिक सहयोग गरेका हुन् ।
पर्यटन विभागका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीको नेतृत्वमा २४ जना कर्मचारीहरुले आगलागी पीडितलाई ४५ हजार २ सय १० रुपैयाँ सहयोग गरेका छन् । पर्यटन विभागका महानिर्देशक डा. रेग्मीको गृहजिल्ला समेत बाजुरा हो ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन पनि संरचना निर्माण कार्य समेत भइरहेको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।