
बाजुरा—बाजुराको सर्वाधिक विकट बिच्छ्याँमा पहिलो पटक खाद्य संस्थानको बिक्री केन्द्र स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिमाली गाउँपालिका १ मा बिक्री केन्द्र स्थापना गरेको हो ।
साविकको बिच्छयाँ गाबिस अर्थात हिमाली गाउँपालिका १, २ र ३ लाई लक्षित गरेर बिक्री केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडीका निमित्त प्रमुख भरत बुढाका अनुसार बिच्छ्यामा स्थापना भएको बिक्रि केन्द्रमा यस आर्थिक बर्ष अर्थात असार सम्मका लागि ३ हजार क्विन्टल चामलको कोटा रहेको छ । मार्तडी, धनगढी र राजपुरबाट एक एक हजार क्विन्टल चामल ढुवानी भइरहेको उनले बताए ।
खाद्य संस्थानको शाखा कार्यालय मार्तडी सहितका डिपो तथा बिक्रि केन्द्रमा हाल प्रतिकेजी चामल ६२ का दरले बिक्रीवितरण भइरहेको छ । तर बिच्छ्याँ बिक्री केन्द्रमा भने २ रुपैयाँ महंगो पर्ने छ । अर्थात त्याँहा प्रतिकेजी चामल ६४ रुपैयाँमा बिक्रीवितरण हुने जनाएको छ । बिच्छयाँ अहिले सम्म यातायातको पहुँचमा पुग्न सकेको छैन् ।
यसअघि चामल लिन एक देखि तिन दिन लाग्ने कुवाडी जानुपर्ने बाध्यता रहेको थियो । अब भने बिच्छ्यामा खाद्य बिक्री केन्द्र स्थापना भएको हो । बिच्छ्यामा खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि त्यहाँका स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर कुवाडी डिपोमा पुग्नुपर्ने बाध्यता हटेको हिमाली गाउँपालिका—३ का वडा अध्यक्ष मंगल बुढाले .बताएका छन् ।
बिच्छयाँ भौगोलिक हिसाबले निकै बिकट र बाजुरा जिल्लाको ३५ प्रीतशत बढी भुगोल ओगटेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार बिच्छयाँको कुल जनसंख्या ३ हजार ४ सय ६८ जना रहेको छ ।
सहज रुपमा यातायात सेवाको पहुँचमा नरहेका बिच्छ्याबासी अनुदानको चामल गाउँमै सहज रुपमा किन्न पाउने भएपछि खुसी भएका छन् । यसअघि उनीहरुले अनुदानको चामल लिन धेरै समय लगानुपर्ने बाध्यता रहेको थियो । खाद्य बिक्री केन्द्र स्थापना भएसँगै स्थानीयले सहज रुपमा अनुदानको चामल पाउने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् ।
त्यस्तै, यसै बर्षबाट जिल्लाको हिमाली गाउँपालिकाकै धुलाचौरमा, बुढीनन्दाको पाण्डुसैनमा समेत नयाँ खाद्य बिक्री केन्द्र स्थापना भएका छन् । खाद्य संस्थानका अनुसार यस बर्ष धुलाचौरमा १५ सय, कुवाडीमा एक हजार, मुक्तिकोटमा ५ सय, पाण्डुसैनमा ५ सय, कोल्टीमा ६ हजार ५ सय र मार्तडीमा ७ हजार क्विन्टल कोटा रहेको छ ।
सुगममा रहेको खाद्य संस्थानको चामल भने बिक्री हुन सकेको छैन् । बजारको मुल्य भन्दा संस्थानमा चामल महँगो हुँदा बिक्री नभएको पाइएको हो ।
