
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले बाम्का बजारका अग्नीपीडितका लागि १० लाख सहयोग गर्ने भएको छ । शनिवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
भीषण आगलागीबाट ध्वस्त भएको बाम्का बजारका आगलागी पीडितका लागि राहत स्वरुप १० लाख सहयोग गरिएको नगर प्रमुख कर्ण बहादुर थापाले बताए । त्यस्तै उनले आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न र सहयोग गर्न सबैलाई अपिल गरिएको बताए ।
शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँुदा करिब २० वटा पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
