
बाजुरा– बाजुराको दक्षिणी भेगमा अवस्थित बाम्का बजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र हो । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका ६ मा पर्ने सो बजारमा जिल्लाका अन्य बजार भन्दा बढी चहलपहल हुने गर्छ ।
सडक सञ्जालको पहुँच पुगेपछि २०६२ सालमा स–सानो पसलबाट किनबेच सुरु भएर हाल मुख्य व्यापारिक केन्द्रका रुपमा स्थापित भएको स्थानीयहरु बताउँछन् । हाल बाम्कामा करिब २ सयको हाराहारीमा पसलहरु छन् ।

तल बुढीगंगा नदी, सानो अनि भिरालो ठाउँमा जेनतेन व्यापार गर्दै विशेष गरी त्रिवेणी र बुढीगंगाका नागरिकहरुले थुप्रै सपनाहरुलाई आशामा परिणत गरी रहेका थिए । तर करिब २० बर्षदेखि बाम्कामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले कमाएको पसिना र श्रम लुटिएको छ । शुक्रवार दिउँसो साढे ३ बजे बम्का बजारको वीचमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगो सुरु भयो । व्यापारीहरुका अनुसार प्रायः सो क्षेत्रका होटलहरुमा प्रयोग गरी रहेका र थप स्टक रहेका सिलिण्डर ग्याँस विष्फोट हुँदा तत्काल आगो नियन्त्रणमा ल्याउन सकिएन् । र ठूलो क्षति व्यहोर्नू पर्यो ।

पसलहरुमा लागेको आगो करिब ३ घण्टा पछि प्रहरी, स्थानीय तथा दमकल नहुँदा डोजर र पानी ट्यांकरको सहयोगमा नियन्त्रणमा आयो । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ३५ वटा भन्दा बढी पसलहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार १४ करोड बढीको धनमाल जलेर नष्ट भएको छ तर एकिन विवरण आउन बाँकी छ ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले आफू हिजोदेखि नै आगलागी स्थलमै रहेको बताउँदै जिल्लामै दमकल नहुँदा तत्काल आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले यस घटनाले हामीहरुलाई ठूलो पाठ सिकाएको भन्दै अब दुई तीन पालिका मिलेर पनि एक दमकल अत्यावश्यक भएको बताए ।

बजारमा सबै टिनका पसल भएकाले तत्काल आगो नियन्त्रण लिन नसक्दा बढी क्षति भएको छ । आगलागी पीडित प्रतिभा कटुवालले भनिन,“आगलागीबाट हाम्रो सम्पत्ति मात्रै खरानी भएन, पसिना लुटिएको छ, सुरुमा घरबाट जग्गाको लालपूर्जा र व्यक्तिगत डकुमेन्ट लिएर आएका थियौ तर अहिले ती पनि लिन पाएनौ ।” त्यस्तै उनले धेरै सामानहरु आगोमा जलेपनि केही सामान भने उद्धारको नाममा चोरी भएको बताइन् । भित्रबाट सामान ल्याएर बाहिर सुरक्षित ठाउँमा राख्ने भन्दै केही व्यक्तिहरुले गायब गरेको उनले बताइन् ।

त्यस्तै सबै आगलागी पीडितहरुले एउटै स्वरमा तत्काल आफूहरुको उद्धारसँगै राहत र पुर्नःस्थापनाका लागि सरकारसँग माग गरेका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले आगलागी पीडितहरुका लागि अहिले तत्काल अस्थायी आवास निर्माण गरेर राहतको लागि सम्बन्धित निकायसँग पहल भइरहेको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले शुक्रवार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आगलागीबाट भएको क्षतिको विवरण संकलन गरेर राहत र पुर्नःस्थापनाका लागि पहल गर्ने निर्णय भएको बताए । त्यस्तै उनले घटनाको एकिन क्षतिको विवरण नआउँदासम्म राहत दिन पनि समस्या हुने बताए ।

त्यसैगरी, आगलागी भएको जानकारी पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि शनिवार बिहान सो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घटनाको वास्तविक जानकारी लिन याँहा पुगेको भन्दै राहत र पुर्नःस्थापनाका लागि आफूले पनि सम्बन्धित निकायमा पहल गरी रहेको बताए ।

भीषण आगलागीबाट बाम्का बजारमा ठूलो धनमालको क्षति भएपनि यस्ता घटना न्युनिकरण गर्न तथा तत्काल नियन्त्रण गर्न पूर्व तयारी अवस्थामा रहनु पर्ने पाठ सबैलाई सिकाएको छ । त्यस्तै यस विषयमा तीनै तहका सरकारसँगै सम्बन्धित निकायहरुले पनि गम्भिर बन्नु पर्ने देखिन्छ ।






