
बाजुरा– शुक्रबार बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसलहरु पुरै जलेर सखाप भएका छन् ।
आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्यांक अनुसार सबै भन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख,छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउँदको एक करोड ५० लाख क्षति भएको प्रहरीले संकलन गरेको प्रहरी निरिक्षक चौधरीले बताएका छन् । आगलागीबाट दिपक साउँद,रामु अयडी,तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन ।आगलागिबाट फैन्सी पसल मेडिकल,इलेक्ट्रोनिक, पुुस्तक पसल र होटलहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक चौधरीको भनाई रहेको छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१प४६८१ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।
