
बाजुरा १९ जेठ — खप्तड छेडेदह गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा आईतबार घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि खप्तड छेडेदह गाउँपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावत बताए ।
गाउँपालिकामा जन्मे देखि १५ महिनासम्मका १ सय २३ जना बालबालिका र १६ महिना देखि ५९ महिनासम्मका १ हजार १ सय १७ जना बालबालिका खोप सेवाको पहुँचमा पुगेका छन्। यसरी कुल १ हजार २ सय ४० जना बालबालिकालाई आवश्यक सबै नियमित खोप दिइसकिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रावतले बताए ।
गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा खोप अभियानलाई सफल भएको खप्डत छेडेदह गाउपालिकाका अध्यक्ष दिलबहादुर रावलतले बताए । पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने सवै कर्मचारी सरोकारवाला लाई धन्यबाद पनि दिएका थिए ।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावलले भने, पालिकाले सम्पूर्ण बालबालिकालाई खोप सेवामा समावेश गराउनु मात्रै होइन, यसलाई दीगो बनाउँदै लैजान चुनौति रहेको छ यसको निरन्तरताको लागि सवै कर्मचारी र सरोकारवालले प्रतिबद्ध हुन जरुरी रहेको बताए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नन्द रावतका अनुसार खोपले बालबालिकालाई झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी छ ।
खप्तड छेडेदह गाउँपालिका जिल्लामै पूर्ण खोप सुनिश्चितता हासिल गरेसंगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत पालिकाले खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको जनाएको छ ।
