
बाजुरा– पैसा नभएपछि अस्पतालले सुबिधा सम्पन्न ठाउँमा रिफर गरेको बिरामी छोरालाइ बुवाले घर ल्याएका छन् । बाजुराको बडीमालिका नगरपालिका १ सल्यानका नर बहादुर कार्कीले २४ बर्षका ईश्वर कार्कीलाइ कैलालीको सेति प्रादेशिक अस्पताल धनगढीबाट बाजुरा घर फिर्ता ल्याएका छन् ।
सेति प्रादेशिक अस्पताल धनगढीले मुटु र नशामा समस्या भन्दै रिफर गरेको थियो । अस्पतालले काठमाडौमा रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको थियो । तर काठमाडौ सम्म जाने गाडिभाडा समेत नभएपछि उनले धनगढी बाट बिरामी छोरा बाजुरा फिर्ता ल्याएको बुवा नर बहादुर कार्कीले वताएका छन् ।
ईश्वर कार्की जन्मजात देखिनै हातको समस्याले ग्रसित छन् । उनको जन्मदा देखि दायाँ हातमा साना, साना ग्रिघा तथा दाना जस्तो देखिएको थियो । पछि बढ्दै जाँदा हातै चलाउन नसक्ने अवस्था भएको थियो । हातमा समस्या भएपछि ईश्वरको केही बर्षअघि नेपालगञ्ज लिएर अप्रेसन गरेको थियो । त्यो बेला केही सञ्चो भएको थियो । फेरि उनको समस्या बल्झिएपछि बाजुरा अस्पताल हुदै धनगढी लगेका थिए । पहिलो पटक उपचार गरेको पैसा तिर्न नसकेका नर बहादुरलाइ ऋण समेत कसैले पत्याउन नसक्ने अबस्थामा पुगेका छन् ।
उपचार गर्न कतै बाट सहयोग नहुने र आफु सँग पैसा नभएपछि उनले छोरालाइ घरमा ल्याउन बाध्य भएको बुवाले वताए । उपचार त टाढाको बिषयको खाना खाने पैसा समेत नभएको उनले वताए । बाजुराको सदरमुकाममा मार्तडीमा छोरा बचाउन हारगुहार गरेपनि कतैबाट सहयोग हुन नसक्दा निकै समस्यामा परेका छन् ।
एकातिर छोरा बिरामी अर्कोतिर उनि आफैँ पनि बिरामी रहेका छन् । उनि पनि ७ बर्षदेखि बाथ रोगबाट ग्रसित रहेका छन् । आर्थिक अबस्था निकै कमजोर रहेका उनले भएको सम्पत्ति पहिलो पटक छोराको उपचारमा सकेका थिए । त्यो बेला सामुदायिक बनबाट निकालेको ऋण अहिले सम्म तिर्न नसकेका छन् । छोराको उपचारमा सहयोग गर्न सबैलाइ हारगुहार गरिहेका छन् ।
