
बाजुरा– खप्तड छेडेदह गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरकाे आयाेजनामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अख्तियारबारे जानकारी, भ्रष्टाचारजन्य कसुर र सजाय, पालिकासँग सम्बन्धित उजुरी पर्ने कारण, हाल अख्तियारमा उजुरीको अवस्था लगायतका विषयमा छलफल गरिएको छ ।
त्यस्तै कार्यक्रममा प्रस्तुतिकरण गर्दै अख्तियारका नापी अधिकृत रमेश सलामीले स्थानीय तहबाटै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने उदेश्यका साथ अन्तरक्रिया गरिएको बताए । उनले स्थानीय सरकारकाे काममा अत्याधिक उजुरी पर्ने मुख्य कारण शासन व्यवस्था नयाँ र कार्यशैली पुरानो तथा अपेक्षा बढी र स्राेत साधन न्युन रहेको बताए ।
त्यस्तै तीन तहका सरकारविच समन्वयकाे अभाव, अस्पष्ट कार्य क्षेत्र तथा उत्तरदायित्व, क्षमता विकासमा पर्याप्त लगानी नहुन र दुःख दिने नियतले स्थानीय तहका अत्याधिक उजुरी पर्ने गरेको जनाएको छ ।
त्यसैगरी कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कञ्चनपुरमा चालू आर्थिक बर्षा २०८१/८२ काे हालसम्म २ हजार १ सय ८४ उजुरी परेकोमा १ हजार ६ सय ६५ उजुरी फर्छयाैट भएको र ४ सय ९७ वटा बाँकी रहेको जनाएको छ ।
त्यस्तै कार्यक्रममा बाेल्दै खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर हुदै गइरहेको भन्दै सबैले सचेत र जिम्मेवार हुनुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने यस्ता अन्तरक्रिया कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरका ईन्जिनियर मदन आचार्यकाे अध्यक्षतामा सञ्चालन भएको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेको थिए । त्यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिशु नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्द बहादुर रावत रहेका थिए भने अतिथिमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विव्यस अध्यक्ष, प्रधानाध्यापक लगायतकाे सहभागीता रहेको थियो ।
