बाजुरा —धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गर्न लागेको छ । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण सुरु गरिएको मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए ।
२०५० सालदेखि मन्दिर निर्माणका लागि पहल भए पनि विभिन्न समस्याले निर्माण हुन सकेको थिएन । अहिले भने नेपाली सेना आफैंले मन्दिर निर्माण सुरु गरेको पाध्यायले बताए ।
विगतमा पुरातत्व विभाग, संघीय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भए पनि निर्माण हुन सकेको थिएन । यसअघि ठेक्का लागिसकेर पनि काम हुन नसकेको पुजारी पाध्यायले बताए ।
‘सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो । तर सामान ढुवानी र प्रतिकूल मौसमका कारण निर्माण हुन सकेको थिएन । यो पटक भने सेनाको सक्रियतामा निर्माण सुरु भएको छ,’ उनले भने । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, हवन कुण्ड र हेलिप्याड निर्माण हुने भएको छ ।
पुजारीका अनुसार मन्दिर करिब २ करोड लागतमा निर्माण हुन लागेको हो । सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण भइरहेको छ । दुई महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने तयारीमा सेना रहेको छ ।
पुरातत्व विभागको प्राविधिक सहयोग र डिजाइन स्टिमेटमा मन्दिर निर्माण हुन लागेको सेनाले बताएको छ । रकम भने नेपाली सेनाको कोषबाट खर्च हुने भएको छ । खर्च हुने रकमका बारेमा भने सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।
निर्माणपछि सबै सार्वजनिक गर्ने सेनाले बताएको छ । सेनाले धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षणअन्तर्गत मन्दिर निर्माण गर्न लागेको बताइएको छ । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग हुने भएको छ । तराईको सालको काठ प्रयोग हुने पुजारीले बताएका छन् ।
बडिमालिका प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्छ । विगतका वर्षभन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भ्रमण गरेका छन् ।
देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।
बडिमालिका पुगेका स्थानीय शेरबहादुर रावत भन्छन्, ‘बडिमालिका क्षेत्र पुग्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना, ठूलाठूला पाटन, घाँसे मैदान जस्ता मनै लोभ्याउने दृश्य देख्न पाइन्छ ।’
बडिमालिका क्षेत्रबाट सैपाल लगायतका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
पाटन भेडा, घोडाका लागि चरन क्षेत्रका रूपमा रहेको छ । बडिमालिका क्षेत्रमा यो समयमा ५० हजारभन्दा बढी भेडाको चरिचरन हुने गरेको छ । बाजुरा, हुम्ला, कालिकोट, मुगु लगायतका क्षेत्रबाट भेडा ल्याएर वैशाखदेखि भदौसम्म चरिचरन गराउने गरिएको छ ।
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पूजा हुने गरेको छ । त्यो दिन हेलिकप्टरमार्फत गएर पूजा गर्ने गरेका छन् । मेला भने जनैपुर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपुर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन् । अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।
बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको कैलाशमाडौंका दीर्घराज जोशीले बताए ।
बडिमालिका क्षेत्रको धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिबुटी तथा वातावरणीय दृष्टिकोणले विषेश महत्व रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रूपमा परिचित छन् ।