काठमाडौं —गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान बिपरित रहेको दावी गरे।
आपराधिक कार्यमा संलग्न जोसुकै भएपनि कडाकारवाही हुने बताए। मन्त्री लेखकले उक्त घटनामा पक्राउ परेकामाथि अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए।
‘ हामी सबै धर्मप्रति सम्मान र मर्यादा गर्दै आ-आफनो धर्म मान्ने र अर्काको धर्ममा अवरोध नगर्ने पद्धति अपनाउँछौं । कुनै पनि धर्मलाई आफ्नो राजनीति अभिष्ट पूरा गर्नलाई प्रयोग गर्नु हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निम्ति प्रयोग गर्नुहुँदैन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म र आस्थासँग जोड्न मिल्दैन। हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्दछ।। त्यो दर्शन र आस्था तीनकुने घटनामा देखिएन,’उनले भने,’ यसैले हिंसालाई धर्मसँग जोड्न सकिदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरीत छ। जसलाई कुनै पनि हालतमा उचित मान्न सकिदैन। उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ।’
मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेकोप्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने कयौं भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।