
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाको फालासैनमा रहेको बडीमालिका क्याम्पसमा लोक सेवा र शिक्षक सेवा आयोगका निःशुल्क तयारी कक्षा सञ्चालन हुने भएका छन् । बडीमालिका मल्टी टेक्नीकल स्कुलको आयोजना, सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय बाजुराको समन्वयमा तयारी कक्षाहरु सञ्चालन गरिने भएका हुन् ।
बडीमालिका मल्टी टेक्नीकल स्कुलका प्रबन्ध निर्देशक सबिन रावतले प्रदेश सांसद पदमबहादुर शाहीकाे पहलमा जिल्लामै लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन हुने बताएका छन् । उनले यहीँ वैशाख २० गतेबाट २ महिने निःशुल्क तयारी कक्षाहरु सञ्चालन गरिने बताए । लोक सेवा र शिक्षक सेवा आयोगको तयारी गर्न जिल्ला बाहिर धाउनुपर्ने अवस्था रहेको भन्दै अब जिल्लामै तयारी कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

बडीमालिका मल्टी टेक्नीकल स्कुलले एक सूचना जारी गर्दै सो कक्षाहरुमा सहभागी ईच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित निवेदन पेश गर्न अनुरोध गरेको छ ।
सो सूचनाअनुसार निःशुल्क तयारी कक्षामा सहभागी हुन १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको, आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटा २ प्रतिसहित निवेदन पेश गर्नुपर्ने छ ।

