
काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूलाई खेदेका छन् । आन्दोलनमा ऐक्यवद्वता जनाउन भन्दै आन्दोलनरत स्थल बानेश्वर पुगेका पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूविरूद्व नाराबाजी गर्दै खेदेका हुन् ।
नेताहरू पुग्ने वित्तिकै शिक्षकहरूले आन्दोलनलाई राजनीतिकरण गर्न खोजेको भन्दै नाराबाजी सुरू गरेका थिए । ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको हो ।
पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर । पुलिसको दादागिरी बन्द गर भन्दै औंलो ठड्याउँदै एकहोरो नारा लगाएर नेताहरूलाई आन्दोलनकारी शिक्षकहरूले बिजुलीबजारसम्म लखेटेका हुन् ।
