
अछाम— अछामकाे साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा भएकाे आगलागीबाट ३ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ। आगलागीबाट १० पसल जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामको प्रारम्भिक तथ्यांक अनुसार आगलागीबाट ३ करोड ८६ लाख ६५ हजारको क्षति भएको जनाएकाे छ ।
शनिवार बिहान आगलागी हुनासाथ नेपाल बैंकमा जडान गरिएको साइरन बजेपछि अधिकांश व्यापारी र स्थानीयहरूले जानकारी पाएर आगो नियन्त्रणमा खटिएका थिए। साे बजारमा रहेकाे शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
त्यस्तै साे आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायता स्वरुप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
