शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति, प्रदेश सरकारबाट ५० लाख राहत

जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति, प्रदेश सरकारबाट ५० लाख राहत

गाउँपालिकाबाट तत्काल ६ लाख रुपैँया राहत दिने निर्णय

  • बुधबार, चैत्र २६, २०८१
जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति, प्रदेश सरकारबाट ५० लाख राहत
तस्विर: धनराज साउँद अछाम

अछाम — अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट भएका छन् ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, १० ढुंगा माटो र २ पक्की घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

मङ्गलसेन नगरपालिकाको दमकल सहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले झण्डै पाँचघण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ७ करोड ५४ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे छ।
आगलागीका कारण जयगढ बजारमा ठुलो क्षति भए पश्चात् बान्नीगढी जयगढ गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ भने आकस्मिक कार्यपालिका बैठक बोलाईएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले आगलागीबाट विस्तापितहरुलाई तत्काल ६ लाख रुपैँया राहत दिने निर्णय गरेको बताइएकाे छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आगलागीबाट पीडितहरूका लागि तत्काल ५० लाख राहत रकम दिने निर्णय गरेको छ । प्रदेश सरकारले सम्बन्धित पालिकाले राहत उपलब्ध गराउने गरी तत्काल प्रदेश विपद् व्यवस्थापन काेषबाट साे रकम दिने निर्णय गरेकाे जनाएकाे छ । आगलागीबाट भएकाे क्षतिकाे पूर्ण विवरण प्राप्त भएपछि सा् सम्बन्धमा थप निर्णय गरिने जनाएकाे छ ।
प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णय समेत गरको छ।

 

चर्चामा

सम्बन्धित समाचार