शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई त्रिवेणी नगरपालिकाको पत्र

शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई त्रिवेणी नगरपालिकाको पत्र

  • आइतवार, चैत्र २३, २०८१
शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई त्रिवेणी नगरपालिकाको पत्र

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न अनुरोध गरेको छ । नगरपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न आग्रह गरेको हो ।

हालसम्म पनि शिक्षा ऐन जारी नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु चैत २० गतेबाट अनिश्चितकालीन आन्दोलनमा रहेका छन् ।

त्यस्तै सो आन्दोलनबाट विद्यालयका नियमित कामकाज सहित नगरपालिकामा भर्ना अभियान तथा शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ ।

नगर प्रमुख कर्ण बहादुर थापाद्धारा हस्ताक्षरित पत्रमा नगरपालिकाको शैक्षिक सत्र २०८२ को भर्ना अभियान शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन गर्न नसकेको उल्लेख गरेको छ । त्यसैगरी यसले विद्यार्थीहरुको पठनपाठनमा दिर्घकालीन असर पर्ने भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन सहित यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण सिर्जना गरी दिन अनुरोध गरिएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार