बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका युवाहरुलाई सीपयुक्त जनशक्ति विकास गर्ने दिशामा अग्रसर बनि रहेको छ । नगरपालिकाले हरेक बर्ष युवाहरुलाई निःशुल्क सीप सिकाउँदै व्यवसायीक बनाउने लक्ष्य लिएको छ ।
नगरपालिकाले पालिकामा विकास निर्माण र नागरिकका आधारभूत आवश्यकता परिपूर्तिसँगै युवाहरुलाई सीप सिकाएर व्यवसायीक र आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।
नगरपालिकाले पालिकामा सीप विकास तथा प्रशिक्षण केन्द्र स्थापना गरेर हरेक बर्ष युवाहरुलाई विभिन्न सीप तथा तालिम प्रदान गर्दै आएको छ । गाउँमा रहेका बेरोजगार, विपन्न तथा एकल महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर तालिम प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ । अहिले पनि कतिपय युवाहरुले प्रधानमन्धी स्वरोजगार कार्यक्रम मार्फत काम पाइरहेका छन भने केहीले सिकेको सीपको सदुपयोग गर्दै आत्मनिर्भर बनिरहेका छन् ।
नगरभित्रका सम्पूर्ण बेरोजगार युवाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ सिलाई कटाई, हाते होजियारी तालिम, कृषि तथा पशु सम्बन्धी तालिम, साुबन, सोडा, फिनायल बनाउने तालिम लगायतका तालिम प्रदान गरिदै आएको नगर उपप्रमुख माया कुँवर खड्काले बताइन् ।
त्यस्तै पालिकामा २० दिने मध्यम अवधिको सावुन, सोडा, हार्पिक र फिनायल बनाउने तालिम बुधवारबाट सुरु भएको छ । एक औपचारिक कार्यक्रमविच नगर प्रमुख राम बहादुर बानियाँले सो तालिमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बानियाँले गाउँमा रहेका युवाहरुलाई सीपुक्त र व्यवसायीक बनाउने उदेश्यका साथ २० दिने तालिमको आयोजना गरिएको बताए । नगर प्रमुख बानियाँले युवाहरुलाई व्यवसायीक तथा सीपयुक्त बनाउने पालिकाले ठूलो लगानी गरी रहेको भन्दै तालिमलाई सीमित नराखेर व्यवहारमा पनि सदुपयोग गर्न आग्रह गरे । सो तालिममा दक्ष अनुभवी प्रशिक्षकबाट २० दिनसम्म तालिममा सहभागी युवाहरु सावुन, सोडा, हार्पिक र फिनायल बनाउन सिकाइने छ । नगर प्रमुख बानियाँले भने,“नगरपालिकाले युवाहरुलाई आत्मनिर्भर बनाएर उत्पादनलाई जोड दिने योजना अघि सारेको छ, सोही अनुरुप एक बर्षमा १० जनालाई मात्रै सीप दिन सकेपनि ५ बर्षमा ५० जना जनशक्ति विकास गर्न सकिन्छ ।”
त्यस्तै नगरपालिकाले सीप विकास तथा प्रशिक्षण केन्द्रमार्फत महिलाहरुको आत्मनिर्भरताको लागि सञ्चालन गरेको अचार तयारी तालिम सम्पन्न भएको जानकारी दिएको छ । बाहिरबाट प्रशिक्षक ल्याएर महिलाहरुलाई आत्मनिर्भर बनाउन अचार तयारी तालिम सञ्चालन गरेको जनाएको छ । तालिममा सहभागीहरुले प्रशिक्षकबाट सिकेको सीप घरमा पनि सदुपयोग गर्ने बताएका छन् ।
१० दिनसम्म सञ्चालन भएको अचार तयारी तालिममा सहभागी महिलाहरुले विभिन्न स्थानीय परिकारका ३ सय डिब्बा अचार उत्पादन गरेको नगर उपप्रमुख माया कुँवर खड्काले बताइन् । उत्पादित केही अचार पालिकामै बिक्री भइसकेको र बाँकी रहेको बजारमा पठाइने उनले बताइन् ।