बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाले आधारभूत तह कक्षा ५ र ८ को नतिजा प्रकाशन गरेको छ । बिहीवार नगरपालिकाले सूचना जारी गर्दै कक्षा ५ र ८ को नतिजा प्रकाशन गरिएको जनाएको हो ।
नगरपालिका स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार २०८१ फागुन २६ देखि चैत्र ५ गतेसम्म सञ्चालन भएको कक्षा ५ र ८ को नतिजा प्रकाशन गरिएको जनाएको छ ।
नगरपालिकाले प्रकाशन गरेको नतिजा अनुसार कक्षा ५ को बार्षिक परीक्षामा सहभागी ४ सय ५५ विद्यार्थी मध्ये १ सय ५१ जना उत्तीर्ण भएका छन् । त्यस्तै १ सय ८ जना ग्रेडवृद्धि परीक्षामा परेका छन भने १ सय ९६ जना विद्यार्थीले सोही कक्षा दोहोर्याउनु पर्ने छ ।
त्यसैगरी कक्षा ८ को परीक्षा सहभागी ३ सय ६७ जना मध्ये ८९ जना अर्थात २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ । त्यस्तै १ सय ३० जना ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् भने १ सय ४८ विद्यार्थीले पुनः कक्षा दोहोर्याउनु पर्ने भएको छ ।
नगरपालिकामा कक्षा ५ र ८ को नतिजा अनुसार ग्रेडवृद्धिको परीक्षा २०८२ बैशाख ४ र ५ गते सञ्चालन हुनेछ ।
त्यस्तै उक्त परीक्षाफल चित्त नबुझेमा प्रति विषय २ सयको राजश्व बुझाई ५ दिनभित्र पुनर्योगको लागि आवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकामा हरेक बर्ष आधारभूत तहको नतिजा कमजोर र चिन्ताजनक हुने गरेको भन्दै विभिन्न टिकाटिप्पणी समेत हुदै आएका छन् ।
हेर्नुहोस् कक्षा ८ को विद्यालयगत नतिजा