शनिबार, चैत्र १५, २०८१
  • होमपेज
  • समाज
  • चौतर्फी विरोधपछि खप्तड छेडेदहमा भूकम्प पीडितहरुका पुनःनिर्माणका कार्यक्रम स्थगित

चौतर्फी विरोधपछि खप्तड छेडेदहमा भूकम्प पीडितहरुका पुनःनिर्माणका कार्यक्रम स्थगित

  • बुधबार, चैत्र १२, २०८१
चौतर्फी विरोधपछि खप्तड छेडेदहमा भूकम्प पीडितहरुका पुनःनिर्माणका कार्यक्रम स्थगित

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा भूकम्पबाट पीडितहरुको पुनःनिर्माणका कार्यक्रमहरु स्थगित भएका छन् । २०७९ साल कार्तिक २२ गते डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडितहरु छनोट प्रक्रियामा विभेद भएको भन्दै विरोध भएपछि पुनःनिर्माण तथा पुनर्स्थापनाका कार्यक्रम स्थगन गरिएको हो ।

उक्त कार्यक्रममा जनप्रतिनिधिहरुले वास्तविक भूकम्प पीडितहरुलाई छनोट नगरेर आफ्‌ना नजिकका परिवारलाई छनौट गरेको भन्दै केही दिनयता चौतर्फी विरोध भइरहेको छ । सो भूकम्पबाट पीडितहरुको सूचिसहित कार्यान्वयनका लागि गाउँपालिकामा आएपछि विवाद सतहमा आएको छ ।

गाउँपालिकाले भने बुधवार विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितहरु छनौट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कर्मचारी तथा पालिकाका कर्मचारीबाट भएको भन्दै जनप्रतिनिधिको कुनै हात नरहेको बताएको छ । गाउँपालिका अध्यक्षको सचिवालयबाट जारी विज्ञप्तिमा गाउँपालिकामा पुनः निर्माणका ४० र प्रबलिकरणका ४३ जना सेवाग्राहीको सूचि प्राधिकरणबाट पालिकामा आएको उल्लेख गरिएको छ ।

त्यस्तै उक्त सूचिमा वास्तविक पीडितहरु समावेश नभएको, विस्तृत क्षति आकलन सूचिमा पालिका अध्यक्ष परिवारको नाम रहेको तर उहाँबाट पुनर्स्थापनाको कार्य नगर्न जानकारी दिएको र सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति जनाइएको भन्दै सो कार्यक्रम स्थगन गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी सो सूचिमा रहेका लाभग्राहीहरुको गाउँपालिकाबाट अनुगमन तथा निरीक्षण गरी कार्यविधिअनुसार रितपूर्वक कागजात नभएकाहरुको पुनर्विचार गरी कार्यान्वयन गरिने जनाएको छ ।
No description available.

चर्चामा

सम्बन्धित समाचार