बाजुरा—बाजुराको सदरमुकाम मार्तडी बजार क्षेत्रमा आजदेखि तीन दिनसम्म विद्युत सेवा अवरोध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै तीन दिनसम्म मार्तडी बजार क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
वितरण केन्द्रका अनुसार मंगलवार अर्थात आजदेखि चैत्र १५ गतेसम्म दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म विद्युतीय लाइन बन्द रहने जानकारी दिएको छ ।
त्यस्तै मार्तडी बजार क्षेत्रमा ११ के.भि. को पुरानो लाइनलाई नयाँ लाइनमा विस्थापन गर्नुपर्ने भएकाले सो दिनसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ । मार्तडी बजार स्थित कारागार देखि बजार क्षेत्र हुदैँ बाजुरा क्याम्पससम्म विद्युत लाइन बन्द हुनेछ ।
यद्यपि तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा नियमित विद्युत सेवा सुचारु हुने जनाएको छ ।
करिब ५ बर्षसम्म जिल्लामा अछामको साँफेवगरबाट ११ के.भि. लाइनबाट विद्युत सेवा प्रवाह गर्दै आएको वितरण केन्द्रले हाल मार्तडी स्थित सवस्टेशनमार्फत ३३ के.भि. लाइन विस्तार गरेसँगै बजार क्षेत्रमा नयाँ लाइनमा विस्थापन गर्न थालेको हो ।