बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ५ हजार घरधुरीमा जाेडियाे राष्ट्रिय प्रसारण लाइनको विद्युत

बाजुराका ५ हजार घरधुरीमा जाेडियाे राष्ट्रिय प्रसारण लाइनको विद्युत

  • आइतवार, चैत्र ९, २०८१
बाजुराका ५ हजार घरधुरीमा जाेडियाे राष्ट्रिय प्रसारण लाइनको विद्युत

टेक बहादुर बुढा—बाजुरा जिल्लाका करिब ५ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गरिएकाे छ । २०७६ माघमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको बाजुरामा हालसम्म ५ हजार घरधुरी ग्राहक संख्या रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुरामा २८ हजार ६५ घरधुरी छन् । त्यसको करिब २० प्रतिशत अर्थात ५ हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार हाल जिल्लाका ९ स्थानीय तहमध्ये ३ पालिकाका ५ हजार घरधुरीमा विद्युत पुगेको छ भने बाँकी ६ पालिकामा अहिलेसम्म पुग्न सकेको छैन्।

अहिलेसम्म जिल्लाको सदरमुकाम समेत रहेको बडीमालिका नगरपालिकामा सबैभन्दा बढी ग्राहक संख्या रहेका छन् । सो नगरपालिकाका ४, ५ र ६ नम्बर वडा बाहेक सबै वडामा केन्द्रीय विद्युत सेवा पुगेको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ र २ बाहेकका वडाहरुमा विद्युत सेवा पुगेको छ भने ३ र ४ वडाका केही गाउँमा पनि जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसै गरी बुढीगंगा नगरपालिका वडा नम्बर १, २ र ३ मा पुर्ण रुपमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा बलिरहेको छ भने वडा नम्बर ६ मा पनि आंशिक रुपमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले बुढीनन्दा नगरपालिकामा पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । उनका अनुसार पोरखेगढी कोल्टी हुदैँ स्वामिकार्तिकको जुकोटसम्म लाइन विस्तार गरिएको छ भने बुढीनन्दा ९ र १० मा बत्ती पुगिसकेको छ । ती २ वडामा रहेको स्थानीय जलविद्युतलाई हस्तान्तरण गरे लगत्तै राष्ट्रिय प्रसारण लाइनको विद्युत बल्ने सूचना अधिकारी भट्टले बताए ।

न्यून क्षमताको स्थानीय लघुजलविद्युतबाट विद्युत सेवा उपभोग गरी रहेका नागरिकहरु अहिले गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै खुसी भएका छन् ।

त्यस्तै जिल्लामा केन्द्रीय विद्युत लाइनसँग जोडिएको करिब ५ बर्षपछि ११ केभिएबाट ३३ केभिए प्रसारण लाइनमा विस्तार गरिएको छ । जिल्ला सदरमुकाम मार्तडीमा सवस्टेशन निर्माण सम्पन्न पश्चात् ०८१ माघबाट वितरण केन्द्रले ३३ केभिए विद्युत प्रसारण लाइन जडान गरेको वितरण केन्द्र प्रमुख राजेशकुमार झाले बताए । यसअघि अछामको साँफेबगरदेखि मार्तडीसम्म ११ केभिए प्रसारण लाइनबाट विद्युत सेवा प्रवाह हुदैँ आएको थियो । तर विस्तारै ग्राहक संख्या बढेसँगै ११ केभिए लाइनले धान्न नसक्ने अवस्था आएपछि ३३ केभिए लाइन विस्तार गरिएको जनाएको छ ।

त्यस्तै जिल्लाको तल्लो क्षेत्र बुढीगंगा र माथिल्लो पूर्वीउत्तरी भेग कोल्टीमा सवस्टेशन निर्माणाधिन अवस्थामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार