शुक्रबार, चैत्र १४, २०८१
  • होमपेज
  • समाज
  • खानेपानीको हाहाकार भएपछि पालिकाको ट्यांकरबाट पानी आपूर्ति

खानेपानीको हाहाकार भएपछि पालिकाको ट्यांकरबाट पानी आपूर्ति

  • आइतवार, चैत्र ९, २०८१
खानेपानीको हाहाकार भएपछि पालिकाको ट्यांकरबाट पानी आपूर्ति

डोटी—डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर २ खड्यौली क्षेत्रमा खानेपानीको हाहाकार हुँदा गाउँपालिकाको ट्यांकरबाट पानी आपूर्ति गर्न थालिएको छ। गाउँपालिका रहेको क्षेत्रमा पानीको अभाव हुँदा करिब २० किलोमिटर टाढा पर्ने ठुली गाडबाट पालिकाको ट्यांकरबाट ओसारेर पानीको आपूर्ति हुँदै आएको हो।

पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित बडीकेदार गाउँपालिकाको मुकाममा आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सो क्षेत्रमा खानेपानीको आपूर्तिका लागि पालिकाले २०७५ सालमा डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरेको थियो।

तर उक्त योजना निर्माण भई सञ्चालनमा आएको ५ वर्ष पनि राम्रोसँग चलेन। सञ्चालनमा आएको पाँच वर्ष नपुग्दै खानेपानीको समस्या देखिँदै आएको छ। डिप बोरिङ निर्माण र मर्मतमा करिब ८० लाख रुपैयाँ खर्च भइसकेको पालिकाले जनाएको छ।

समस्या समाधानका लागि पालिकाले पटक-पटक लाखौँ रकम खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन। हाल डिप बोरिङको पानी पूर्ण रूपमा बन्द रहँदा खानेपानीको अभाव चुलिएको हो। पानी अभावका कारण दैनिक व्यापार व्यवसाय तथा होटल सञ्चालनमा प्रत्यक्ष असर परेको स्थानीय होटल व्यवसायी राम बहादुर बिठाडीले बताए। उनले होटेलमा २/४ जना मानिस आउने बित्तिकै पानी अभावका कारण खाने, बस्ने सुविधा छैन भन्नु पर्ने बाध्यता रहेको बताए। यस विषयमा स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको समेत उनले बताए।

डिप बोरिङको पानी बन्द हुँदा पालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भई दैनिकी चलाउन निकै कठिन भएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए। उनले भने, ‘डिप बोरिङ बन्द भएपश्चात् हाल पालिकाले ट्यांकरले पानी ओसार्दै छ, यो दिगो व्यवस्थापन होइन। सधैँ भर यसरी ट्यांकरमा पानी ओसारेर पालिका चलाउन सकिँदैन।’

पालिकाले सञ्चालनमा ल्याएको डिप बोरिङ सुकेपछि खानेपानीको हाहाकार भएको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउदले बताए। उनले भने, ‘अब पानी अभावका कारण पालिका सञ्चालनमा साह्रै गाह्रो भइसक्यो। नजिक छेउछाउमा पानीका मुहान छैनन्। पालिका लगायत नजिकका बस्तीहरूमा पानी आपूर्ति गर्न निकै समस्या छ।’

पालिकाको सानोतिनो स्रोतले नपुग्ने भएकाले संघीय सरकारले पहल गर्नुपर्ने अध्यक्ष साउदले बताए। बडीकेदार गाउँपालिका र आसपासका क्षेत्रमा खानेपानीको दिगो व्यवस्थापनका लागि पालिकाबाट करिब ३० किलोमिटर टाढा रहको बडीकेदार धाम क्षेत्रमा पर्ने धजालाउने पानी मुहानका लागि डीपीआर सम्पन्न गरी आवश्यक कागजात सहित संघीय खानेपानी कार्यालय धनगढीमा पेस गरेको पालिकाले जनाएको छ। पालिकाले तयार गरेको लागत स्टेटमेन्ट अनुसार करिब १० करोड रकम आवश्यक पर्ने पालिकाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार