बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले बडीमालिका केवलकार निर्माण हुने भन्दै अपरिपक्क समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जना गरिएको बताएको छ । बिहीवार नगरपालिकाले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै एउटा अनलाइनमा बडीमालिका केवलकार निर्माण हुने भन्ने भ्रामक समाचारको खण्डन गरेको जनाएको छ ।
बिजनेस न्यूज डटकम नामक अनलाइनमा चैत्र ६ गते सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिका पुग्न १२ किलोमिटर लामो केवलकार निर्माण शिर्षकमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचार अनुसार ४ अर्ब ३० करोड ४६ लाख ७० हजार लगानीमा बडीमालिका मन्दिरलाई लक्षित गरी निर्माण गर्न केबलकार निर्माण व्यवसायी अरुण कुमार सुवेदीको नामै किटान गरी निजले बडीमालिका प्रा.ली समेत दर्ता गरिसकेको भन्ने आपत्तीजनक लेखप्रति पालिका थप आर्श्च्य चकित भएको उल्लेख गरेको छ ।
बडीमालिकाको समग्र विकास योजना, लगानी, संरक्षणका लागि संविधानमा प्रष्ट रहेको भन्दै यसका लागि तिनै तहका सरकार र विकास साझेदारहरुसँग नगरपालिका निरन्तर छलफल र बहसमा केन्द्रित भएको स्पष्ट पारेको छ ।
त्यस्तै हाल केवलकारको संरचना निर्माण गर्न प्रा.लि नै दर्ता गरिएको, लगानी समेतको योजना देखाइएको, स्थानीय तहसँग कुनै सर्म्पक, सल्लाह र सहमतिविना, कानुनी आधार र प्रमाण प्रस्तुत नगरी अपरिपक्क समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जना गर्ने काम भएको नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् । त्यस्तै कुनै सरकार, संस्था वा व्यक्तिसमेतले यस्तो गैरजिम्मेवार तवरले कुत्सित मनसाय लिइ कार्य गर्न पहलकदमी लिएको हो भने यो धार्मिक सम्पदामाथिको अनधिकृत आक्रमण मानिने पालिकाको निष्कर्ष भएको नगर प्रमुख थापाको भनाई छ ।
त्यस्तै बडीमालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा विविध पक्षको जानकारी लिई तथ्यका आधारमा समाचार पुनः सम्प्रेषण गर्न पनि नगरपालिकाले निर्देशन गरेको छ ।
त्यस्तै देशकै प्रसिद्ध शक्तिपिठका रुपमा पुजिने बडीमालिका त्रिवेणी ९ मा अवस्थित नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको बडीमालिका धार्मिकसँगै पर्यटकिय तथा जैविक खानीका रुपमा चिनिदै आएको छ ।
त्यस्तै बडीमालिकाको विकासविना समग्र नगरको विकासको सपना अधूरो हुने भन्दै यसका लागि सबैको सहकार्य आवश्यक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै ध्यानाकर्षण पत्रमार्फत नगरपालिकाले बडीमालिका बृहत पर्यटकीय गुरुयोजना निर्माणमा थप सहयोग र सुझाव प्रस्तुत गर्न सबै सरोकारवाला पक्षलाई समेत आव्हान गरेको छ ।