बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भएको महायज्ञबाट ५७ लाख बढी रकम संकलन भएको छ ।
खापरदेवस्थली माध्यमिक विद्यालयले २०८१ माघ १७ देखि २४ गतेसम्म जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञ आयोजना गरेको थियो ।
उक्त महायज्ञबाट ५७ लाख ७३ हजार ६ सय ७९ रुपैयाँ दान संकलन भएको मूल आयोजक समाराेह समितिले सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएको छ ।
महायज्ञ मूल आयोजक समाराेह समिति संयोजक हर्क बहादुर रावतले महायज्ञमा भएको आर्थिक आय व्यय तथा एकिन विवरण बुधवार विद्यालयमा स्थानीय, सरोकारवाला, जनप्रतिनिधि लगायतको सहभागीतामा सार्वजनिक सुनुवाई गरेर सार्वजनिक गरिएको बताएका छन् । उनका अनुसार महायज्ञमा जम्मा खर्च २५ लाख २१ हजार ७ सय ३१ रुपैयाँ भएको छ भने हाल बैंक मौज्जात ७ लाख २१ हजार ९ सय ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै २५ लाख ३० हजार ३ रुपैयाँ विभिन्न व्यक्ति तथा स्थानीय तहहरुले प्रतिवद्धता गरेका छन् । त्यसैगरी उक्त महायज्ञबाट संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने भनेर सल्लाह भएपनि एकिन निर्णय भने नभएको समितिले जानकारी दिएको छ ।
खापरदेवस्थली माविले समग्र विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचारप्रसारका लागि पहिलो पटक महायज्ञको आयोजना गरेकाे थियो । उक्त महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले महायज्ञ अवधिभर प्रवचन गरेका थिए ।