बाजुरा—बाजुराका भूकम्प पीडितहरुको दोस्रो किस्ताको रकम निकासा दिने निर्णय भएको छ । मंगलवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदानको पहिलो किस्ता पाएर दोस्रो किस्ता पाउन बाँकी रहेकाहरुको रकम निकासा दिने निर्णय गरेको हो ।
जिल्लाका ८ वटा पालिकामा यसअघिका भूकम्पबाट प्रभावित भएर दोस्रो किस्ता फाराम भरेका एक हजार ४ सय ७३ घरपरिवारहरुको रकम निकासा दिने भएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । उनका अनुसार सो परिवार संख्याका लागि ३ करोड ६८ लाख २५ हजार रुपैयाँ पालिकाका स्थानीय विपद् व्यवस्थान कोषमा निकासा दिने निर्णय भएको छ ।
त्यस्तै बडीमालिका नगरपालिकाका भूकम्प पीडितहरुको भने पोर्टलमा इन्ट्री गर्ने क्रममा प्राविधिक समस्या आएकाले सो समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गर्ने निर्णय भएको छ ।
त्यस्तै सो बैठकले मनसुनजन्य विपद् तथा आगलागीका घटना भएर पीडितहरु राहतका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा न्यून रकम रहेको भन्दै तत्काल प्राधिकरणसँग २५ लाख रकम माग गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै २०७७ सालदेखि मनसुनजन्य विपदबाट प्रभावितहरुको लागि रकम आउने प्रक्रिया अन्तिम चरणमा पुगेको र प्राप्त हुनासाथ लाभग्राहीहरुको खातामा रकम भुक्तानी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले २०८१ पुस ६ गते जगन्नाथको गोत्री केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पूर्ण क्षति ४१ र आंशिक २ सय ३५ घर रहेको विवरण बुढीनन्दाबाट आएकाले प्राधिकरण र सम्बन्धित पालिकाबाट प्राविधिक प्रतिवेदन आएपश्चात् आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आ–आफ्नो कार्य क्षेत्र अन्तर्गत विपद्मा परेकालाई नियमानुसार तत्काल राहत दिनुपर्ने र रकम अपुग भएमा सम्बन्धित मन्त्रालयमा माग गरी पठाउने जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा सञ्चालन भएको बैठकमा पालिकाका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।