बाजुरा—बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । यहीँ चैत्र ७ गतेबाट सञ्चालन हुने एसईई परीक्षाको तयारी करिब पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षाका लागि परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तीका लगायतका सामग्री पुगी सकेका छन् भने केहीमा सामग्री सहित कर्मचारी, सुरक्षाकर्मी आजबाट खटिएका छन् । त्यस्तै इकाई प्रमुख जोशीले एसईई परीक्षामा खटिएका केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको बताए । परीक्षालाई मर्यादित बनाउन विद्युतीय साधन मोवाइल, घडी लगायतका साधन पूर्ण रुपमा निशेष गरिएको र अनुगमनलाई समेत व्यवस्थित बनाइएको उनले बताए ।
उक्त अभिमुखीकरण कार्यक्रममा परीक्षाका लागि आवश्यक थप व्यवस्थापन, परीक्षामा खटिएका कर्मचारीहरुका काम कर्तव्य, नीतिनियम, अनुगमन लगायतका बिषयमा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले परीक्षालाई मर्यादित, भयरहित, स्वच्छ र शान्तिपूर्ण तवरले सञ्चालन गर्न सम्पूर्ण टिम लागि रहेको बताए ।
त्यस्तै यस बर्षको एसईईमा जिल्लाबाट ६६ सामुदायिक र एक सँस्थागत विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने कार्यक्रममा जानकारी गराइएको छ । जसअनुसार नियमित साधारणतर्फ २ हजार २ सय १५ र ग्रेडवृद्धिका ६ सय ६८ विद्यार्थी सहभागी हुदैँ छन् । त्यस्तै प्राविधिक धारतर्फ १ सय २ नियमित र ३३ जना ग्रेडवृद्धिका सहभागी हुने छन् । त्यस्तै जिल्लाका ९ वटै पालिकाका १७ वटा विद्यालयमा एसईईको परीक्षा केन्द्र तोकिएका छन् ।
उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाध्यासहित शिक्षा इकाई प्रमुख टिकाराम जोशी, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरी, सशस्त्र प्रहरी बल आश्रित गुल्म प्रमुख डिएसपी श्याम रावत, सम्पूर्ण केन्द्राध्यक्षहरु, इकाईका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।