बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
गाउँपालिकाको निणर्य बमोजिम मन्त्रालयले पत्र पठाउँदै शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको जनाएको छ । यसअघि गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहेका शाहीलाई मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको छ । शाही यसअघि पनि २०७७ चैत्रदेखि ०७९ असारसम्म पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरी सकेका छन् ।
गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले प्रशासकिय अधिकृतको टुंगो लागेसँगै पालिकामा विकास निर्माण सहित आर्थिक तथा प्रशासनिक कार्य तीव्र रुपमा सञ्चालन हुने बताएका छन् ।
गाउँपालिकाका अध्यक्षमाथि विभिन्न आरोप लगाउँदै फागुन १९ गते नेकपा एमाले र एकिकृत समाजवादी निकट नेता तथा कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । त्यसै दिन पालिका अध्यक्ष कार्यालयकै कामको शिलशिलमा जिल्ला बाहिर गएका थिए । त्यसको करिब १० दिनपछि पालिका अध्यक्ष पुगेर फागुन २८ गते पालिका भित्रका सबै दलका नेताहरु, जनप्रतिनिधी र अन्य सरोकारवाला पक्षबीचको आपसी समझदारीपछि ताला खुलाइएको थियो ।