• होमपेज
  • बडिमालिका
  • बाजुरामा घरेलू हिंसाका उजुरी मिलापत्रबाटै समाधान

बाजुरामा घरेलू हिंसाका उजुरी मिलापत्रबाटै समाधान

  • मङ्लबार, फाल्गुन २७, २०८१
बाजुरामा घरेलू हिंसाका उजुरी मिलापत्रबाटै समाधान

बाजुरा– बाजुरामा धेरैजसो घरेलू हिंसाका उजुरी मिलापत्रबाटै समाधान हुने गरेको पाइएको छ । घरेलू हिंसाबाट पीडित भएको भन्दै महिलाहरुले प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै समाधान हुने गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार गत आर्थिक बर्षमा २७ वटा घरेलू हिंसाका उजुरी परेका थिए । ती मध्ये १९ वटा मुद्धा मिलापत्रबाटै समाधान गरिएको छ भने ८ वटा सम्बन्धित निकाय (न्यायिक समिति) मा गएको तथ्याकंमा देखीएको छ ।
त्यस्तै चालू आर्थिक बर्ष २०८१।०८२ को हालसम्म घरेलू हिंसाका १२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले चालू आर्थिक बर्षको हालसम्म परेका घरेलू हिंसाका उजुरी मध्ये ११ वटा मिलापत्रबाट समाधान गरिएको बताएका छन । त्यस्तै एक मुद्धा भने कानुनी प्रक्रियामा रहेको उनले बताए ।
त्यसैगरी घरमा विशेषतः महिलाहरुलाई खानबस्न नदिएको, गालीगलौज, कुटपिट गरेको, घरायसी झगडा लगायतका हिंसा तथा दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिए पनि पछि मिलापत्रबाटै छिनोफानो हुने गरेको पाईन्छ । पीडितहरु अदालतसम्म जान नचाहने, भौगोलिक विकटताले झन्झट मान्ने र कानुनी प्रक्रियामा गएपनि पछि सोही घरमा फर्केर आउनुपर्ने बाध्यता लगायतका कारणले धेरै मुद्धा दर्ता नहुने गरेको प्रहरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार