बाजुरा — जिल्ला अदालत बाजुराको परिसरबाटै हत्कडी सहित भागेका कैदी एक घण्टा पछि पुन: पक्राउ परेका छन् । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका ६ का गोपाल विकलाई फागुन ९ गते बिहान पक्राउ गरी जिल्ला अदालत बाजुरामा पेश गर्ने क्रममा हत्कडी सहित भागेका थिए । अदालतबाट भागेर गएकाे एक घण्टा पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप गिरीले बताए ।
बुढीगंगा नगरपालिा ८ बेतालमाण्डौबाट कृष्ण रावलको ग्याविन जाली चोरेको आरोपमा २०८० माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी पश्चात २०८१ जेठ २७ गते जिल्ला अदालत बाजुराले दोसी ठहर गरी ९ महिना कैद सजाय हुने गरी फैसला भएको थियो ।
२० दिन हिरासत बसेर ८ महिना १० दिन कैद भुक्तान हुन बाँकी रहेको अवस्थामा पक्राउ गरी अदालत उपस्थित गराएर कारागार चलानका लागि कागजी प्रकृयामा हुदैगर्दा अदालत परिसरबाटै भागेका थिए ।
अभियुक्त विकलाई प्रहरीले आजै समातेर जिल्ला अदालतबाट कारागार चलानका लागि लगिएको र सोही क्रममा चर्पी जाने बाहना बनाएर भागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अदालतबाट भागेको एक घण्टा पछि पुन पक्राउ गरी कानूनी प्रकृया अगाडी बढेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।