बाजुरा– बुढीगङ्गा नगरपालिकाले प्रदेश सरकारले पठाएको बजेट कार्यान्वयन नगर्ने बताएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सुदूरपश्चिम प्रदेश सरकारले करिब १७ योजना बुढीगङ्गा नगरपालिकालाई वित्तीय हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले २५ लाख भन्दा साना योजनाका लागि सम्बन्धित पालिकामै बजेट पठाउने र पालिकाबाटै योजना अगाडी बढाउने नीति लिएको छ । यसरी बुढीगङ्गामा प्रदेश सरकारले पठाएका १० लाखदेखि २५ लाखसम्मका करिब १७ योजना पालिकाले फेरि प्रदेश सरकारलाई नै फिर्ता पठाउने निर्णय गरेको छ ।
गत पुस २५ गते नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाउने निर्णय गरिएको नगरप्रमुख रामबहादुर बानियाले जानकारी दिए । ‘बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चारको आवश्यकता हो तर प्रदेश सरकारले आवश्यकताबेगर योजनाहरू छनोट गरेको छ, कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिएको हुँदा प्रदेश सरकारलाई नै योजना फिर्ता गरिएको हो ’ उनले भने ।
माग गरेको क्षेत्रमा प्रदेश सरकारले बजेट विनियोजन नगरेको नगरपालिकाको आरोप छ ।अनुत्पादन क्षेत्रमा वित्तीय हस्तान्तरण भएका योजनाहरू प्रभावकारी नहुने भन्दै कार्यान्वयन नगर्ने नगर कार्यपालिकाले निर्णय गरेको हो । १० लाख भन्दा बढीका योजना ठेक्का गर्ने नगरपालिका को नीति छ । तर, प्रदेश सरकारले वित्तीय हस्तान्तरण गरेका योजनाहरूलाई भने उपभोक्ता समिति मार्फत सम्पन्न गर्न दबाब आएको नगरपालिका स्रोतको गुनासो छ ।
‘हामीले १० लाखभन्दा माथिका बजेट ठेक्का गर्नुपर्छ भनेर नीति बनाएका छौँ प्रदेश सरकारले वित्तीय हस्तान्तरण गरेका योजना उपभोक्ता मार्फत गर्नुपर्छ भन्ने पनि आइरहेको छ ’ कार्यपालिका बैठकमा सहभागी एक जनप्रतिनिधिले भने, ‘आवश्यकता नभएको ठाउँमा बजेट दिएर हामीलाई हाम्रै नीति विपरीत कार्यान्वयन गराउन खोजेपछि हामीले प्रदेश सरकारलाई नै फिर्ता गर्ने निर्णय गरेका हौँ ।’
उत्पादनहीन क्षेत्रमा बजेट उपलब्ध गराएको प्रदेश सरकारले प्रदेशकै गौरव बन्न सक्ने पालिकाका योजनामा भने बजेट दिन कन्जुस्याइँ गरेको नगर प्रमुख बानियाँको गुनासो छ । पालिकाले तीन सडक आफ्नै स्रोतमा बनाउन सुरु गरेर प्रदेश सरकारसँग बजेट माग गर्दा आफूहरूले कुनै साथ नपाएको उनले बताए । नगरपालिकाले बेतालमाण्डौँ-त्रिशक्ति-जुवापानी, बाम्का-नगरपालिका-आटिचौर र ताप्री-सेरा-नाडाङ सडक सुरु गरेको छ । तर, प्रदेश सरकारले बजेट नदिएको नगरप्रमुख बानियाँको गुनासो छ ।
‘हामीले निकै महत्वका योजनाहरू भन्दै तीन सडक निर्माण प्रारम्भ गरेका छौँ प्रदेश सरकारले त्यसमा कुनै बजेट दिएको छैन’ उनले भने, ‘जनतालाई सहज हुने काममा बजेट दिन आलटाल गरेको सरकारले फेरी जनतालाई आवश्यकता नभएको क्षेत्रमा पनि बजेट उपलब्ध गराएको छ।’ नेपाल प्रेस अनलाइनबाट