बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा विद्यालय नर्स र शिक्षकहरुका लागि आयोजित पुर्नताजगी तालिम सम्पन्न भएको छ । शुक्रवार र शनिवार दुई दिनसम्म सञ्चालन भएको पुर्नताजगी तालिम समापन भएको हो ।
एकिकृत दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालयका फोकल शिक्षक तथा नर्सहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने पुर्नताजगी तालिम दिइएको जनाएको छ ।
नेपाल सरकार विश्व खाद्य कार्यक्रम र पालिकाको सहकार्यमा एकिकृत विकास समाज नेपाल, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम को सयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियो । एकिकृत विकास समाज नेपाल (आइडिएस नेपाल) पालिका प्राविधिक सहयोगी माया बिष्टले उक्त तालिममा पालिकाका ३१ वटा विद्यालयले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको कार्ययोजना निर्माण गरेको बताएकी छन् । दुई दिने पुर्नताजगी तालिमले कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालयका फोकल शिक्षक तथा नर्सहरुको थप क्षमता अभिवृद्धि हुने र कार्यक्रम प्याकेजका बारेमा छलफल गर्दै तालिम सम्पन्न भएको बिष्टले बताइन् ।
तालिम समापन कार्यक्रममा बोल्दै खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले पालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिइने र जनप्रतिनिधिहरुको अनुगमनले थप प्रभावकारी रुपमा सञ्चालन हुने विश्वास लिएको बताए । त्यस्तै अध्यक्ष रावतले गाउँपालिका, विश्व खाद्य कार्यक्रम र आइडिएस नेपालको संयुक्त साझेदारीमा भान्छा घर नभएका विद्यालयमा भान्छा घर निर्माण गरिने बताए ।
दुई दिने पुर्नताजगी तालिममा गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथ, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा नर्स, आइडीएस नेपाल जिल्ला संयोजक सुरेन्द्र जैरु लगायतको सहभागीता रहेको थियो ।